राष्ट्रिय आर्थिक गणनाका लागि ४,४३९ जनाको आवश्यकता, आवेदन खुला


काठमाडौं ।

सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले ४,४३९ जना करार कर्मचारी भर्ती गर्ने सूचना सार्वजनिक गरेको छ।

देशभर सञ्चालन हुने आर्थिक गणनाका लागि ५२६ जना सुपरिवेक्षक र ३,९१३ जना गणक आवश्यक पर्ने जनाइएको छ। सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह र गणकका लागि १०/२ वा प्रमाणपत्र तह उत्तीर्ण हुनु आवश्यक छ।

यो रोजगारी करिब साढे दुई महिनाको करारमा हुनेछ। मासिक पारिश्रमिक सुपरिवेक्षकका लागि ३४,७३० रुपैयाँ र गणकका लागि ३२,९०२ रुपैयाँ तोकिएको छ।

योग्य व्यक्तिहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट वा उपलब्ध QR कोड मार्फत सम्पन्न गर्न सकिन्छ। म्याद नाघेका वा अपूर्ण आवेदनमाथि कुनै कारबाही गरिने छैन।