हिमालयन बैंकको ३३औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ
हिमालयन बैंक लिमिटेडको तेतीसौँ वार्षिक साधारण सभा आज मिति २०८२ साल पौष ३० गते सफलतापूर्वक सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभाले बैंक तथा बैंकका सहायक कम्पनीसमेतको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकको वित्तीय प्रगति, सञ्चालन अवस्था तथा भावी रणनीतिबारे जानकारी गराउनुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सभाले बैंकको कार्यसम्पादनलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेको जनाएको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२÷०८३ का लागि वर्तमान लेखापरीक्षक ए.जे.एन्ड एसोसिएट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी नियामक निकायको निर्देशनअनुसार बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनामा आवश्यक परिमार्जन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ ।