हेटौंडा ।
बढ्दो सवारी दुर्घटनामा जिउधनको क्षति हुने क्रम बढेपछि सोको न्यूनीकरण र सडक सुरक्षालाई मध्यनजर गर्दै मकवानपुरको भीमफेदीमा विशेषरुपमा छड्के सवारीजाँच गरिएको छ । उक्त जाँचबाट सार्वजनिक सवारीका चालकहरुले लागूपदार्थ सेवन गरेर सवारी हाँक्दै आएको पुष्टि भएको छ ।
जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य समन्वय कार्यालय र इलाका प्रहरी कार्यालय भीमफेदीको संयुक्त आयोजना तथा प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्राविधिकहरुको सहयोगमा मंगलबार दिनभर परीक्षण गरिएको हो । पहाडी क्षेत्रको घुमाउरो र साँघुरो सडकमा दुर्घटना हुने क्रम बढेपछि ट्रफिक प्रहरीको समन्वयमा सवारीसाधन र चालकको परीक्षण सुरु गरिएको हो ।
सवारीचालकहरुले लागुऔषध तथा मादकपदार्थ सेवन गरे-नगरेको परीक्षण गर्नुका साथै सवारीको आवश्यक कागजात र अनुमतिपत्रको निरीक्षण गरिएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं छोटो दुरीको मार्गमा चल्ने सवारीसाधनको अनुगमन गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. प्रवीण पाठकका अनुसार टीएचसी ¥यापिड टेष्टमार्फत गरिएको परीक्षणमा केही चालकहरुमा लागुऔषध सेवनको नतिजा ‘पोजेटिभ’ देखिएको छ ।
१ सय १४ चालकको पिसाब परीक्षणबाट ११ जनाले लागुऔषध प्रयोग गरेको पुष्टि भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठले बताए । पोजेटिभ आएकामध्ये सुमोचालक ६ जना, ईभी चालक ३ जना र कहिले फलफुल त कहिले माछा बोक्ने २ चालक छन् । यात्रुको जीउधनलाई असुरक्षित पार्दै लापरबाही तरिकाले सवारी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला ट्रफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फुँयालले बताए ।
‘यस अभियान सवारीचालकहरुलाई आफ्नो जिम्मेवारीप्रति सजग बनाउन र सडक अनुशासन कायम गर्न सञ्चालन गरिएको हो,’ प्रहरी निरीक्षक श्रेष्ठले भने । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रनि बच्चुराम फुयाँलले यातायात सुरक्षा, यात्रीप्रतिको जिम्मेवारीबोध गराउन र चालकहरुको लापरबाही नियमन गर्न यस मार्गमा नियमित अनुगमन आवश्यक रहेको बताए ।
यस प्रकारको आकस्मिक जाँचले चालकहरुलाई जिम्मेवार बनाउने र सम्भावित सडक दुर्घटनाबाट धनजनको क्षति कम गर्न मद्धत पुग्ने विश्वास लिइएको छ । लागुऔषध सेवन गरी सवारी चलाउने चालकहरुलाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
चालकले लागुऔषध प्रयोग गरे-नगरेको परीक्षण गर्न एक प्रकारको ¥यापिड टेस्ट कीट प्रयोग गर्न थालिएको हो । शंका लाग्नेबित्तिकै चालकको पिसाब उक्त कीटमा हालेर जाँच गरिन्छ । यसरी जाँच गर्दा उसले लागुऔषध प्रयोग गरे-नगरेको तुरुन्त थाहा हुन्छ । यसअघिसम्म मादकपदार्थ प्रयोग गरे÷नगरेको जाँच गर्न ब्रेथलाइजर प्रयोग गरिन्थ्यो । तर, प्रहरीका अनुसार चालकले लागूपदार्थ प्रयोग गरेको प्रमाणित गर्ने आधार थिएन । चालकले लागूपदार्थ प्रयोग गरेको लक्षण देखिए पनि प्रमाणित गर्ने उपाय थिएन । अब शंका लागेका चालकबाट नमुना लिएर परीक्षण गरी तत्काल थाहा पाउन सकिने भएको हो । सार्वजनिक सवारीका चालकले लागुऔषध प्रयोग गर्ने गरेको सूचना बेलाबेला आउने गरेको छ । लागुऔषध प्रयोग गरी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा पुस २० गते भएको सुमो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ज १७७८ नम्बरको सुमो साँझ भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत जुरिखेतमा सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।
मकवानपुर प्रहरीका अनुसार मृतकमा भारत बिहार राज्य पटना बस्ने ४२ वर्षीय रजनीश कुमार, हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौंडा उपमहानगरपालिका–२, कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराइ बस्ने ५० वर्षीय अरविन्दकुमार लगायत छन् । प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमो जुरिखेतको तीव्र ओरालोमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तरपूर्वतर्फ पर्दछ ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा रहेका यातायात व्यवसायीअन्तर्गत सुमो व्यवसायी, टिकट काउन्टर सञ्चालक तथा चालकहरु समेतको उपस्थितिमा सडक सुरक्षा, यात्रुहरुको अभिलेखीकरण तथा ट्राफिक नियमपालना गरी यात्रुहरुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउनुपर्ने जिम्मेबारीसमेत विषयमा आवश्यक छलफल तथा अन्तर्क्रिया गरेको थियो ।
हेटौंडा–काठमाडौं रुटमा चल्ने सुमोको ठ्याक्कै निश्चित संख्या बताउन गाह्रो छ । तर, उक्त रुटमा अनेकांै निजी सुमो र बोलेरोलगायत) चल्छन् विशेषगरि अत्यावश्यक यात्रुहरुका लागि । यातायात समिति वा सरकारी निकायमा दर्ता संख्या उपलब्ध छैन ।
उक्त रुटमा चल्ने सुमोहरुको संख्याबारे आधिकारिक तथ्यांक पाइँदैन । अधिकांश सुमोहरु निजी वा अनौपचारिकरुपमा चलेका हुन्छन्, जसले गर्दा ठ्याक्कै संख्या भन्न सकिँदैन । यात्रुको आवश्यकता र समयअनुसार सुमोहरु सञ्चालन हुन्छन् । हेटौंडा–काठमाडौं रुटमा सुमोको संख्या निश्चित नभइ चल्तीमा रहेका अनौपचारिक सवारीसाधनको संख्या दैनिक करिब ७ सय रहेको अनुमान गरिएको छ ।
मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूपदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । कानुनद्वारा निषेधित गाँजा, अफिम, हेरोइन, मर्फिन र कोकिन आदि अवैध लागुऔषध हो भने सूर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो ।











प्रतिक्रिया