कांग्रेस विशेष महाधिवेशनमा आज मतदान नहुने


काठमाडौँ।

भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति मतदान नहुने भएको छ।

रातिको समयमा मतदान गराउन व्यवहारिक कठिनाइ हुने भन्दै बुधबार मात्रै मतदान प्रक्रिया अघि बढाउने तयारी गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।

उनका अनुसार साँझ साढे ७ बजेसम्म मनोनयन दर्ता प्रक्रिया पूरा गरिनेछ। त्यसपछि छलफलमार्फत बाँकी निर्वाचन कार्यतालिका तय गरिनेछ।
‘राति नै मतदानमा जाने सोच छैन,’ संयोजक केसीले भने, ‘रातभर मतदान गराउन गाह्रो हुने भएकाले भोलि बिहानबाट प्रक्रिया सुरु हुने सम्भावना छ।’

यसअघि निर्वाचन समितिले आजै राति ९ बजेदेखि मतदान हुने गरी तालिका सार्वजनिक गरेको थियो। तर अब नयाँ निर्वाचन तालिका सार्वजनिक गरिने केसीले बताए।

विशेष महाधिवेशनमार्फत १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने छ। केसीका अनुसार निर्वाचन पुरानै विधानअनुसार सञ्चालन गरिनेछ, जसअनुसार २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन्।

त्यस्तै, खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ।