काठमाडौँ ।
नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय सूचना इकाइ ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण तथा आमविनाशका हतियारको निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी नीतिगत, संस्थागत तथा सञ्चालनगत प्रगतिहरू समेटिएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा वित्तीय सूचना इकाइले सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार, वित्तीय सूचना व्यवस्थापन प्रणालीसम्बन्धी सञ्चालन निर्देशिका जारी तथा अद्यावधिक, साथै शंकास्पद कारोबार र सीमापार कारोबारसम्बन्धी मार्गदर्शन परिमार्जन लगायतका कार्य सम्पन्न गरेको जनाएको छ। साथै, रिपोर्टिङ गर्ने संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाहरूका लागि क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
वित्तीय सूचना व्यवस्थापन प्रणालीमा आबद्ध संस्थाको संख्या बढ्यो
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा वित्तीय सूचना व्यवस्थापन प्रणालीमार्फत सूचना संकलन उल्लेख्य रूपमा वृद्धि भएको छ। प्रणालीमा आबद्ध सूचक संस्थाको संख्या अघिल्लो वर्ष एक हजार नौ सय अठचालीस रहेकोमा समीक्षा अवधिमा बढेर दुई हजार चार सय अठसठी पुगेको छ।
सोही अवधिमा वित्तीय सूचना इकाइले पाँच हजार नौ सय पचपन्न वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब तीस प्रतिशतले वृद्धि हो।
चार सय बाउन्न वित्तीय सूचना प्रतिवेदन सम्बन्धित निकायमा पठाइयो
प्राप्त प्रतिवेदनहरूको विश्लेषण करिब चालीस प्रतिशतले वृद्धि भएको जनाइएको छ। विश्लेषणपछि वित्तीय सूचना इकाइले चार सय बाउन्न वटा शंकास्पद कारोबार तथा गतिविधिमा आधारित वित्तीय सूचना प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित कानुन कार्यान्वयन निकायमा पठाएको छ।
यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको इकाइको विश्वास छ।
चौंसठ्ठी देशसँग सूचना आदान–प्रदान
आर्थिक वर्ष २०८१/८२ मा वित्तीय सूचना इकाइले चौंसठ्ठी वटा विदेशी वित्तीय सूचना इकाइसँग सूचना आदान–प्रदान गरेको छ। सीमापार वित्तीय कारोबारबाट उत्पन्न हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर अपराध तथा नयाँ प्रकृतिका अपराधविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गरिएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, एशिया–प्रशान्त समूहले गरेको पारस्परिक मूल्याङ्कनपछि नेपाल कडा निगरानीमा रहेको क्षेत्र सूचीमा परेपछि भएका समन्वयात्मक प्रयासहरू पनि वार्षिक प्रतिवेदनमा समेटिएका छन्।
जोखिममा आधारित प्रणाली आगामी प्राथमिकता
वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार लाई वित्तीय सूचना इकाइका आगामी प्राथमिकताका क्षेत्रका रूपमा औंल्याएको छ। साथै, वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
वित्तीय सूचना इकाइको वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट तथा क्यूआर कोडमार्फत सार्वजनिक रूपमा उपलब्ध रहेको जनाएको छ।











प्रतिक्रिया