कांग्रेस विवाद समाधान प्रयास तीव्र, तीनै पक्ष दोस्रो चरणको वार्तामा


काठमाडौँ।

नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न तीनै पक्षका प्रतिनिधिहरू फेरि वार्तामा जुटेका छन्। संस्थापन पक्ष, नेता डा. शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरबीच मंगलबार दिउँसो ३ बजेदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो।

यसअघि मंगलबार बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म लाजिम्पाटमा तीन पक्षका ८ जना नेताबीच छलफल भएको थियो। नेताहरूका अनुसार पहिलो चरणको संवाद सकारात्मक रह्यो।

वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् भने डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल सहभागी छन्। यस्तै, महामन्त्रीद्वय पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा छन्।

त्रिपक्षीय वार्ता चलिरहँदा सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ भने भृकुटीमण्डपमा विशेष महाधिवेशनको प्रक्रिया पनि अघि बढिरहेको छ। विवाद समाधानमा सहमति जुटेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाले विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर सम्बोधन गर्ने विषयमा समेत छलफल भइरहेको छ।