बालबालिकाको सहयोगार्थ स्टाइल एण्ड साउण्ड


बालप्रतिभा र संगीतमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले हालै राजधानीमा स्टाइल एण्ड साउण्ड नामक विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ।


आगामी माघ २४ गते ललितपुरस्थित यूएन पार्कमा हुने चिल्ड्रेन म्युजिक फेस्टिभल २०२६ लाई सहयोग गर्ने उद्देश्यले प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न कार्यक्रममा विभिन्न समूहको सांगीतिक प्रस्तुति रहेको थियो। लोकप्रिय सांगीतिक समूह कुटुम्ब ब्याण्ड, नेपाल प्रहरी संगीत विद्यालय तथा विद्या शिरोमणि संगीत घरानाको सहकार्यमा सम्पन्न कार्यक्रम नेविश फेशन डेस्टिनीले प्रस्तुत गरेको हो।

कार्यक्रममा कुटुम्ब ब्याण्डले आफ्ना नया“ पुराना संगीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेको थियो। कार्यक्रममा गायिका क्यारोलिनाले आनी छोइङ डोल्माको फूलको आ“खामा फूलै संसार बोलको गीत प्रस्तुत गरेकी थिइन्। करिब साढे दुई घण्टासम्म विभिन्न सांगीतिक प्रस्तुतिका साथ सम्पन्न समारोहमा प्रहरी ब्याण्डले पनि कुटुम्बका साथ वाद्य प्रस्तुति प्रस्तुत गरेको थियो। त्यसैगरी काठमाडौं ज्याज कन्सर्भेटोरीकी शिक्षिका कुञ्जनी महर्जन, जोन मलाखा, अधिश्री कास्पाल, विशाल कश्यपलगायतका कलाकारले पनि आफ्नो प्रस्तुति दिएका थिए।

नेपाल आइडलका प्रतियोगी राज सायमीले राफाएला महर्जनका साथ विष्णु जल्मीले लेखेको तथा कृष्णमान डंगोलले संगीतबद्ध गरेको पुरानो नेवारी गीत रत्ना प्रस्तुत गरे।

कार्यक्रममा स्विट्जरल्याण्डकी ज्याज गायिका क्यारोलिना काटुनले प्रस्तुति दिएकी थिइन् भने उनलाई राफाएला महर्जनले साथ दिएकी थिइन्। साथमा वाद्य शिरोमणि संगीत घरानाका प्रतिभाशाली बाल कलाकारले विशेष प्रस्तुति दिएका थिए। कार्यक्रमले परम्परागत नेपाली जातीय लोक वाद्ययन्त्रलाई आधुनिक पश्चिमी वाद्ययन्त्र, शास्त्रीय तथा ज्याज संगीतस“ग संयोजन गरी प्रस्तुत गर्न सकिने सम्भावना उजागर गरेको आयोजकले जनाएका छन्।

कार्यक्रमबाट संकलित रकम आगामी दिनमा आयोजना गरिने बाल कला महोत्सव जलवायु सचेतना नामक बृहत् सार्वजनिक कार्यक्रमका लागि प्रयोग गरिने जनाइएको छ। आयोजकका अनुसार एक दिने चिल्ड्रेन म्युजिक फेस्टिभल २०२६ मा संगीत, नृत्य, कविता तथा वाद्य संगीतमा आधारित बालबालिकाका विभिन्न प्रस्तुति, जलवायु सचेतनासम्बन्धी कला प्रदर्शनी तथा सिर्जनात्मक प्रदर्शनका साथै खाना तथा पेय पदार्थका स्टल रहनेछन्।

महोत्सवले बालबालिकाका स्वरमार्फत जलवायु परिवर्तनसम्बन्धी सचेतना सन्देश फैलाउने लक्ष्य लिएको छ। कार्यक्रममा संकलित सहयोग रकम आवश्यकताका आधारमा बालबालिकाको शिक्षा, सिर्जनशीलता तथा उज्ज्वल भविष्य निर्माणमा खर्च गरिनेछ। संगीतको रमाइलो अनुभवस“गै सामाजिक सेवामा योगदान गर्ने अवसरका रूपमा यो कार्यक्रमलाई लिइएको छ।