कांग्रेस विशेष महाधिवेशनमा वार्ता समिति गठन, आज छलफल हुने


काठमाडौँ ।

नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनका क्रममा देखिएको विवाद समाधानका लागि वार्ता समिति गठन गरिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट संयुक्त वार्ता समिति बनाइएको हो।

वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल रहेका छन्। खाण र लेखक सभापति देउवाको तर्फबाट तथा परियार र रिजाल डा. कोइरालाको तर्फबाट सदस्य छन्। विशेष महाधिवेशन पक्षधरले यसअघि केन्द्रीय सदस्य प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसेलाई समेटेर चार सदस्यीय वार्ता समिति गठन गरेका थिए।

दुवै वार्ता समितिबीच आज केहीबेरमा छलफल हुने नेताहरूले बताएका छन्। यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। उता विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भने बिहान ९ बजेबाट पुनः सुरु हुने जनाइएको छ।