जंगली हात्तीद्वारा बेलका नपामा आठ लाख बढीको क्षति, एक घाइते


उदयपुर। 

  उदयपुरको त्रियुगा नगरपालिका, बेलका र उदयपुरगढी गाउँपालिकाको विभिन्न वडामा केही दिनदेखि लगातार रुपमा गाउँ पसेर जंगली हात्तीले ठुलो  क्षति गरेको छ । बेलका नगरपालकामात्र करिब ८ लाख ६ हजार ५ सय बढीको क्षति गरेको छ । हात्तीको आक्रमणबाट एक जना वृद्ध सामान्य घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार २०८२ पुस २२ गतेदेखि २८ गतेसम्म बेलका नगरपालिका वडा नं. २ को विभिन्न स्थानहरुमा जङ्गलबाट आएका जङ्गली हात्तीहरुले स्थानीयहरुको घर तथा भान्साघर भत्काई अन्नपात, बाली समेत नष्ट गरी अन्दाजी मुल्य रु ८ लाख ६ हजार ५सय  बराबरको क्षति पु‍¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पुष २२ गते राती समयमा बेलका न.पा. वडा नं २ शान्तिनगर टोल बस्ने गेतु कुमार राईले संचालन गरेको जि.के. कृषी तथा पशुफर्म तथा खेतबारीमा लगाएको अन्न बालीमा क्षति गर्दा अन्दाजी रु ५० हजार बराबरको क्षति भएको छ। 

सोही वडामा पुष २३ गते रातको समयमा बेलका २ गिद्धेरी टोल बस्ने जयरानी लिम्बुको कच्चीघर भत्काई अन्नपात, युरिया मल १ बोरा समेत खाई अन्दाजी  ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सोही ठाउँ बस्ने संगिता तामाङको कच्चीघर भत्काई अन्दाजी  १० हजार बराबरको क्षति भएको छ भने निजको आमा वर्ष ७७ की फुलमाया तामाङलाई सुतिरहेको अवस्थामा हात्तीको सुडले तानी फाल्दा निज घाइते भई उपचारको लागि बेलका नगर अस्पताल रामपुरमा ल्याई सामान्य उपचार पश्चात सोही दिन डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी बेलका २ नं वडा कै सोम बहादुर लिम्बुको कच्चीघर भत्काई अन्दाजी १० हजार बराबरको सोही ठाउँ बूने बस्ने सुस्मिता लिम्बुको ५ बोरा धान खाई घर नजिकै रहेको साग बारी र केराबारी समेत नष्ट गरी अंन्दाजी १५ हजार बराबरको क्षति भएको छ ।

पुष २४ गते बेलका न.पा. वडा नं ०२ रामनगर टोल बस्ने पदम राईको टाटीबेरा र फुसको छाना भएको एक तले घर  भत्काई घर भित्र रहेको अन्नपात समेत खाई अन्दाजी २५ हजार बराबरको क्षति भएको छ । सोही ठाउँ बस्ने मनोज सदाको कच्ची घर भत्काई अन्नपात समेत खाई अन्दाजी रु. २५ हजारको र अन्य सामान समेत ५० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पुष २५ गते रातको समयमा बेलका न.पा. वडा नं०२ सुन्दर टोल बस्ने देव नारायण चौधरीको कच्चीघर भत्काई अन्नपात समेत खाई अन्दाजी १ लाख बराबरको क्षति भएको छ । सोही ठाउँका ज्ञान बहादुर बस्नेतको  बारीमा लगाएको बाली खाई अन्दाी रु ३ हजार बराबरको क्षति भएको ।

यस्तै गरी बेलका नपा २ कै मुना पराजुलीको बारीमा लगाएको बाली खाई अन्दाजी  १हजार५सय बराबरको क्षति भएको छ भने सोही वडामा बस्ने कुमार थापाको कच्ची गाई फर्म भत्काई कच्चीघर भित्र रहेको अन्नपात खाई अन्दाजी  २ लाखबराबरको क्षति  भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बेलका नपा वडा नं २ कै सार्कीमान बि.क.को कच्ची घर भत्काई अन्दाी १२ हजार बराबरको क्षति भएको, सोही ठाउँ बस्ने भुवन राईको बाँसको कच्ची भान्सा घर भत्काई अन्नपात समेत खाई अन्दाजी रु १५ हजार बराबरको क्षति भएको ।

पुष २६ गते रातको समयमा बेलका नगरपालिका वडा नं २ बानडाँडा स्थित सप्तकोशी सामुदायिक बन बहुसास्कृतिक साकेला पार्कमा घेराबेरा गरेको तार जाली वार जंगली हात्तीले कुल्चिएर अंन्दाजी  १ लाख बराबरको क्षति भएको । यस्तै सोही ठाउँ बस्ने राजेश यादवको खेतमा लगाएको आलु खाई, उखेली अंन्दाजी रु १लाख५० हजार बराबरको क्षति गरेको छ ।

यस अघि जंगली हात्तीको समुहले उदयपुर कै त्रियुगा नगरपालिकाको वडा नं ६ र ७ मा उदयपुरगढी गाउँपालिकाको वडा नं ७ का विभिन्न गाउँहरुमा पसेर अन्नपात खाने, घर गोठ भत्काउने, लगाएको बाली नष्ट गर्ने गरेकामा करिब ६ लाख बराबरको क्षति गरेकेो थियो । हालसम्म उदयपुरमा हात्तीको आक्रमणबाट करिब १५ लाख बराबरको क्षति भएको बताइएको छ ।

उक्त स्थानहरुमा आएका हात्तीहरुलाई नेपाल प्रहरी र स्थानीयबासीहरुको सहयोगमा जङ्गलतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।