पार्टी एकतामा असर गर्ने गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको आग्रह


काठमाडौँ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर भन्दै पार्टीका सम्पूर्ण पंक्तिलाई एकताबद्ध भएर प्रतिनिधि सभा निर्वाचनमा जुट्न अपिल गरेका छन्।

खड्काले देश गम्भीर अन्योल र अनिश्चितताको अवस्थामा रहेको उल्लेख गर्दै सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधि सभा विघटन भइसकेको परिस्थितिमा लोकतन्त्र र संविधानप्रति सर्वत्र चासो र चिन्ता बढेको बताएका छन्। उनले आगामी फाल्गुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमार्फत संविधानलाई सही लिकमा ल्याउँदै लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारु गर्न आवश्यक रहेको स्पष्ट पारेका छन्।

खड्काले यस्तो संवेदनशील घडीमा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुनु अपरिहार्य भएको उल्लेख गर्दै पार्टीभित्र देखिएको असहज र अन्योलको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले नेपाली कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा विषम परिस्थितिको सही मूल्यांकन गर्दै आफ्नो नेतृत्वमा देशलाई उचित निकास दिएको स्मरण गराएका छन्।

राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित नेपाली कांग्रेसको काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको उल्लेख गर्दै खड्काले प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि आगामी २०८३ बैशाखमा हुने १५औँ महाधिवेशनमार्फत पार्टीको नीति परिमार्जन र नेतृत्व परिवर्तन सहज रूपमा गर्न सकिने अवस्था सुनिश्चित रहेको बताएका छन्।

उनले वर्तमान अवस्थामा सबै पार्टी पंक्ति प्रतिनिधि सभा निर्वाचनलाई अभियानका रूपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। यसका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्था तथा सहयोगी सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा आग्रह गर्दै कार्यवाहक सभापति खड्काले पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पारेर सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गरेका छन्।