काठमाडौँ।
सरकारले मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्नेसहित ६ वटा निर्णय गरेको छ । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्नेसहित ६ वटा निर्णय गरेको हो ।
बैठकले वित्तीय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने पनि मन्त्रिपरिषद्को निर्णय छ ।
२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यस्तै, गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ ।











प्रतिक्रिया