खोटाङ।
सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीमा बेलिब्रिज राखिएपछि सिधा यातायात सुरु भएको छ । पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकमा पर्ने फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि छ महिनादेखि अवरुद्ध सडक सुचारु भएको हो।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज आइतबारबाट सञ्चालनमा आएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ ।
बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन् । फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि करिब तीन घण्टाको दूरी छोटो भएको छ । यसले यातायात व्यवसायी र यात्रु दुवैलाई फाइदा भएको छ । अस्थायी बेलिब्रिज दीर्घकालीन समाधान नभएकोले त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी भएको सरोकारवालाहरुको भनाई छ ।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए-एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रा.लि.कटारी–३, उदयपुरले लिएको थियो । मूल्य अभिवृद्धि कर सहित ९६ लाख ७७ हजार ९ सय ३७ मा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडान गरिएको योजना कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीले बताए ।
गत वर्ष असोज–१२ गते राति आएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिन्टारको १ सय २० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्रुहरु झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए ।
फोक्सिङटारमा पुनः मोटरेबल पक्की पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहिरहने छ ।
उता, सुनकोशीकै बङ्शिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सीमानामा पर्ने सुनकोशीस्थित बङ्शिलाघाटमा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैंयाँ लगानीमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको हो ।











प्रतिक्रिया