गायक प्रशान्त तामाङको कार्डियक अरेस्टबाट निधन

1.69k
Shares

काठमाडौं।

इन्डियन आइडल २००७ का विजेता तथा लोकप्रिय गायक एवं अभिनेता प्रशान्त तामाङ अब यो धर्तीमा रहनुभएन ।
नेपाली मूलका उहाँको आइतबार दिउँसो दिल्लीस्थित आप्mनै निवासमा कार्डियक अरेस्टका कारण असामयिक निधन भएको छ । ४३ वर्षीय उहाँको स्वास्थ्यमा समस्या आएपछि दिल्लीको द्वारकास्थित एक अस्पातालमा लगिए पनि अस्पतालले निधनको पुष्टि गरेको थियो । लोकप्रिय भारतीय गायन रियालिटी सो इन्डियन आइडल सिजन–३ मा भाग लिएर संसारभरका नेपालीभाषीमात्र नभई भारतलगायतका देशमा समेत ख्याति कमाउनुभएका उहाँले नेपाली, भारतीयसहित विभिन्न भाषामा गीत गाउनुभएको थियो । उहाँको असारै महिनामा, मन साइली, रातो रानी, अरे क्या नाम, घामको माया, गोर्खा पल्टनजस्ता गीतहरू निकै लोकप्रिय थियो।

गायनका साथमा उहाँ अभिनयमा पनि उत्तिकै पोख्त हुनुहुन्थ्यो । उहाँँले नेपाली फिल्म गोर्खा पल्टन, गोर्खा पल्टन २, परदेशी, परदेशी २, अँगालो यो मायाको, निशानीजस्ता नेपाली फिल्म तथा पछिल्लो समय अमेजन प्राइमको पाताल लोकजस्तो ओटीटी सिरिजमा समेत अभिनय गरेर मन जित्दै आउनुभएको थियो । अभिनेता सलमान खानका साथ बलिउड फिल्म ब्याटल अप गलवानमा समेत अभिनय गर्नुभएका उहाँको सो फिल्ममा डबिङको काम बाँकी थियो ।

इन्डियन आइडलमा भाग लिनुअघि मुम्बई पुलिसको आर्केस्ट्रामा कार्यरत उहाँ समय समयमा पुलिसका कार्यक्रममा गीत गाउने गर्नुहुन्थ्यो । सोही क्रममा आफ्ना अग्रजहरूको सल्लाहअनुसार इन्डियन आइडलमा सहभागिता जनाउनुभएका उहाँले सोको विजेता नै बनेर एक सामान्य कर्मचारीबाट अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली भाषा र गीत संगीतको सुवास छर्नुभएको थियो ।

सन् १९८३ जनवरी ४ मा दार्जिलिङमा जन्मिनु भएका प्रशान्त आफ्नो अन्तिम समयमा ३ वर्षीया छोरी आरियाको हेरचाह गर्दै आउनुभएको थियो । कोरोना महामारीका बेला दार्जीलिङमा रहनुभएकी आमालाई अन्तिम अवस्थामा भेट्न नपाउनु उहाँको जीवनकै दुःखद क्षण थियो । पछिल्लो समय उहाँ कार्यक्रम र अफरहरू छोडेर आफ्नी तीन वर्षकी छोरीलाई समय दिँदै आउनुभएको थियो । ‘छोरीमा आमाको झल्को देख्छु’ श्रीमती एयरहोस्टेज भएकाले घर र छोरीको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँ भन्ने गर्नुहुन्थ्यो ।

करियरमा थुप्रै अवसर आउँदा पनि परिवारलाई पहिलो स्थान दिँदै आउनुभएको उहाँको पत्नी मार्था एली र छोरीप्रति गहिरो लगाव थियो । उहाँको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट सेयर गर्दै दुःख व्यक्त गर्नुभएको छ भने नेपाल र भारतीय कलाकार तथा संसारभर रहेका उहाँका फ्यानले विभिन्न माध्यममार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।