दोलखा।
३०४ औं पृथ्वी जयन्तीको अवसरमा दोलखाको तामाकोशी गाउँपालिकामा रहेको देउराली गढी प्रवर्धनको लागि विविध कार्यक्रम आयोजना गरिएको छ । पूर्व सुरक्षाकर्मी परिषद् नेपाल दोलखाले गरुड दल गण चरिकोट र तामाकोशी गाउँपालिकाको सहकार्यमा गढी प्रवर्धनको लागि विविध कार्यक्रम आयोजना गरेको हो।
प्रवर्द्धन कार्यक्रम अन्तर्गत आइतवार तामाकोशी गाउँपालिका वडा नम्बर– ६ मा रहेको देउराली गढीमा छात्र– छात्रा दौड तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको छात्र दौड तर्फ महेन्द्र माविका राज मिजार प्रथम, अमर माविका प्रवचन कार्की द्धितिय र गोल्मेश्वर माविका समीर बुढाथोकी तृतीय भएका थिए ।

समूह नृत्य तर्फ महेन्द्र मावि प्रथम र जनप्रभात मावि द्धितिय भएका छन् भने एकल नृत्य तर्फ जनज्योती माविकी शिवानी खड्का प्रथम, जनप्रभात माविको हर्सिला तमाङ द्धितिय, गोल्मेश्वर माविको रक्षा भुजेल तृतीय र अमर माविको प्रमिला विक सानत्वना भएका छन् ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै तामाकोशी गाउँपालिकाका प्रमुख प्रोण प्रताप केसीले ऐतिहासीक पर्यटकीय केन्द्रको रुपमा विकास भएको देउराली गढीमा गाउँपालिकाको तर्फबाट नेपालको राष्ट्रिय एकिकरणको नायक पृथ्वी नारायण शाहको प्रतिमा राख्ने उद्घोष गरे ।

गरुड दल गढका गणपति कर्णेल लोक सागर कटुवालले देउराली गढीको ऐतिहासीक महत्वको चर्चा गर्दै नेपाली सेनाले गढी संरक्षणको लागि जनप्रतिनिधि र स्थानीयसंगको सहकार्यमा विविध कार्यक्रमहरु आयोजना गरिरहेको बताए ।
सो अवसरमा गणपति लोक सागर कटुवालले देउराली गढीमा राख्न गाउँपालिका प्रमुख प्रोण प्रताप केसीलाई गरुड दल गणको तर्फबाट राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

पूर्व सुरक्षाकर्मी परिषद् नेपाल दोलखाका अध्यक्ष शङ्कर बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो, पूर्व कर्णेल रामहरी केसी, गरुड दल गणका मेजर अदिती गुरुङ, वडा नम्बर– ६ का वडा अध्यक्ष कृष्ण प्रसाद फुयाँल, पूर्व सुरक्षाकर्मी परिषद् नेपाल दोलखाका उपाध्यक्ष राजेन्द्र चौलागाई, सचिव हरि बहादुर आँपागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।











प्रतिक्रिया