अस्ट्रेलियामा आगलागी: ३०० भन्दा बढी भवन जलेर नष्ट, एक जनाको मृत्यु


काठमाडौँ।

दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको डढेलोका कारण एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्।

पछिल्ला केही दिनयता अस्ट्रेलियाका विभिन्न भागमा आगलागी फैलिएको छ। भिक्टोरिया राज्य सबैभन्दा बढी प्रभावित भएको छ भने न्यु साउथ वेल्सका केही क्षेत्र पनि डढेलोको चपेटामा परेका छन्। प्रारम्भिक अनुमानअनुसार हालसम्म ग्रेटर लन्डनको आकारभन्दा झण्डै दोब्बर क्षेत्र जलेको छ।

डढेलो फैलिँदै गएपछि भिक्टोरिया राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ। आगो नियन्त्रणमा लिन हजारौँ अग्नि नियन्त्रकहरू खटाइएका छन् भने ७० भन्दा बढी विमानमार्फत आगो निभाउने प्रयास जारी छ। जोखिममा रहेका एक दर्जनभन्दा बढी क्षेत्रका बासिन्दालाई घर खाली गर्न निर्देशन दिइएको छ।

अधिकारीहरूले अत्यधिक तातो, सुख्खा मौसम र तीव्र हावाका कारण आगलागी हप्तौँसम्म नियन्त्रण बाहिर रहन सक्ने चेतावनी दिएका छन्।

भिक्टोरियाकी प्रिमियर ज्यासिन्टा एलनले राज्यभर हाल करिब ३० वटा आगलागी सक्रिय अवस्थामा रहेको जानकारी दिइन्। तीमध्ये १० वटा आगलागीलाई उच्च जोखिमयुक्त मानिएको छ। आइतबार बिहान ८ बजेसम्म करिब ३ लाख ५० हजार हेक्टर क्षेत्र जलेको उनले बताइन्।

यसैबीच, प्रहरीका अनुसार मेलबर्नबाट करिब ११० किलोमिटर उत्तरमा रहेको लङवुड सहर नजिकैको एउटा गाउँमा मानव अवशेष फेला परेको छ। मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बीबीसी