रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला शनिबारदेखि सुरु भएको छ। मन्थली नगरपालिकाभित्र उत्पादित कृषि उपज, पशुपन्छी र लघु उद्यमका सामग्रीहरूको प्रचार(प्रसार तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले यस मेलाको आयोजना गरिएको हो।
मन्थली नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त प्रदर्शनी मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गरेका थिए। सो अवसरमा मन्त्री पौडेलले स्थानीय उत्पादनको प्रवर्द्धनले नै आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताउँदै किसानहरूलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ लाग्न आग्रह गरे।
मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगरपालिकाका विभिन्न वडाबाट ल्याइएका कृषि उपज तथा घरेलु उत्पादनका ५२ वटा स्टलहरू राखिएका छन्। स्टलहरूमा स्थानीय स्तरमा उत्पादित खाद्यान्न, तरकारी, फलफूल, पशुपन्छी र उद्यमीहरूले तयार पारेका सामग्रीहरू प्रदर्शनीका लागि राखिएको छ।
कार्यक्रमको व्यवस्थापन र बजेटबारे जानकारी दिँदै नगरपालिकाको आर्थिक विकास समितिका संयोजक नवराज थापा मगरले मेला सम्पन्न गर्न नगर सभाबाट ६ लाख रुपैयाँ विनियोजन गरिएको बताए। यो मेलाले नगरभित्रका किसान र लघु उद्यमीहरूलाई आफ्नो उत्पादनको पहिचान गराउन र उचित बजार खोज्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया