काठमाडौ
सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकका अनुसार उक्त नियुक्ति २०८२ साल पौष २५ गतेदेखि लागू हुनेछ ।
बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गर्नुभएका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवारीपूर्ण पदमा कार्य गर्दै बहुमूल्य अनुभव आर्जन गर्नुभएको थियो । त्यसपछि सन् २००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
उहाँले विगत ३६ वर्षको बैंकिङ सेवाकालमा विभिन्न तह र जिम्मेवारीमा रही समग्र बैंक सञ्चालनसम्बन्धी व्यापक अनुभव प्राप्त गर्नुभएको छ । विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनका क्षेत्रमा उहाँको उल्लेखनीय योगदान रहेको बैंकले जनाएको छ ।
संस्थागत सुशासनलाई केन्द्रमा राखी बैंकिङ सेवा प्रवाह गर्नुपर्छ भन्ने दृढ धारणा राख्नुभएका बस्यालको नेतृत्वमा बैंकले दीगो वृद्धि, उत्कृष्ट ग्राहक सेवा तथा संस्थागत सुदृढीकरण अझ सशक्त हुने विश्वास लिएको छ ।











प्रतिक्रिया