लमजुङ।
माघे सङ्क्रान्तिको अवसरमा पूर्वी लमजुङको राई नास नगरपालिका–६ स्थित गौलिटार खेलमैदानमा गोरु जुधाइ प्रतियोगिता हुने भएको छ । गौलिटार क्षेत्रीय खेलमैदान समितिको आयोजनामा माघ १ गतेदेखि संचालन हुने पाँचौँ राई नास कप फुटबल प्रतियोगितासँगै यस वर्ष गोरु जुधाइ प्रतियोगिता पनि समावेश गरिएको हो ।
यसअघि प्रत्येक वर्ष राई नास नगरपालिका–८ मा हुँदै आएको गोरु जुधाइ प्रतियोगिता यस वर्ष स्थान परिवर्तन गरी वडा नं. ६ को गौलिटार खेलमैदानमा आयोजना गर्न लागिएको गौलिटार क्षेत्रीय खेलमैदान समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले जानकारी दिए । स्थान परिवर्तनसँगै प्रतियोगितालाई अझ व्यवस्थित, सुरक्षित र दर्शकमैत्री बनाउने तयारी भइरहेको उनले बताए ।
प्रतियोगितामा राई नास नगरपालिका भित्रका किसानहरुले आफूले पालेका गोरु सहभागि गराउन सक्नेछन् । परम्परागत खेलको संरक्षण र स्थानीय संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोरुका धनीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कार अन्तर्गत प्रथम हुने गोरुलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।
माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने पाँचौँ राईनास कप फुटबल प्रतियोगितालाई थप आकर्षक बनाउने तथा राई नास क्षेत्रमा परम्परागत रुपमा हुँदै आएको गोरु जुधाइ प्रतिस्पर्धालाई रोचक, मनोरञ्जनात्मक र व्यवस्थित रुपमा प्रस्तुत गर्ने तयारी भइरहेको समितिले जनाएको छ । स्थानीय कला, संस्कृति र खेलकुदको प्रवर्द्धनमा यो कार्यक्रमले सकारात्मक योगदान पु¥याउने विश्वास आयोजकको छ ।











प्रतिक्रिया