काठमाडौँ ।
रु रु जलविद्युत परियोजना लिमिटेडको २०औँ वार्षिक साधारण सभा मिति २०८२ साल पौष २५ गते काठमाडौँको स्मार्ट प्यालेस, चाबहिलमा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा कम्पनीका शेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तीपुर, रुपाकोट र हरेवा क्षेत्रमा अवस्थित यस जलविद्युत परियोजनाको कुल उत्पादन क्षमता ५ मेगावाट रहेको छ । वि.सं. २०६२ साल चैत्रमा स्थापना भएको कम्पनीद्वारा प्रवद्र्धित माथिल्लो हुग्दी खोला जलविद्युत परियोजनाले २०७१ साल चैत्र ९ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरेको हो ।
हालै सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०८१÷०८२ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत ५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत भएको छ ।
सभाले बोनस शेयर जारी गर्न आवश्यक पर्ने व्यवस्था मिलाउन कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र कम्पनीको उद्देश्यमा आवश्यक थप गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।
यसअघि कम्पनीको १९औँ वार्षिक साधारण सभाबाट बोनस शेयर पश्चात कायम हुने चुक्ता पुँजीको १ः०.८ अनुपातमा हकप्रद शेयर सार्वजनिक निष्कासन गर्ने निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनका लागि नियमनकारी निकायमा आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी सभामा गराइँदै, सोही निर्णयलाई निरन्तरता दिने निर्णयसमेत यस साधारण सभाबाट भएको छ ।
त्यसैगरी, सभाले आगामी चार वर्षका लागि शेयरधनीहरूको तर्फबाट एक जना महिला सहित छ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । स्वतन्त्र विशेषज्ञ सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्दै सात सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।
सभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको पहिलो बैठकले श्री आशिष सुवेदीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ। नवनिर्वाचित सञ्चालक समितिमा अध्यक्ष सुवेदीसहित श्री चन्द्रबहादुर पुन, सागर पाठक, सरिता शाक्य प्रधान, अन्जनराज पौड्याल, अविनाश सिलवाल र स्वतन्त्र विशेषज्ञ सञ्चालकका रूपमा गोविन्द चालिसे रहनुभएको छ ।
कम्पनीका सचिव किशोर प्रसाद घिमिरेले साधारण सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आगामी दिनमा कम्पनीले थप व्यावसायिक विस्तार र शेयरधनी हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।











प्रतिक्रिया