होमनाथ दाहालको निधनमा कांग्रेसका सबै कार्यालय बन्द


काठमाडौँ ।

नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता तथा पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा पुस २७ गते पार्टीका सबै तहका कार्यालय बन्द गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।

बैठकले पुस २६, २७ र २८ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने, १३ दिनसम्म शोक पुस्तिका राख्ने तथा १३ औँ दिन ओखलढुङ्गामा शोकसभा आयोजना गर्ने निर्णय पनि गरेको छ।

८४ वर्षीय दाहालको शुक्रबार काठमाडौँको मैतिदेवीस्थित निवासमा निधन भएको थियो। उनी नेपाल पत्रकार महासङ्घका पूर्वसभापति, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा वि.सं. २०५६ को आम निर्वाचनमा ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।