काठमाडौँ।
भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट खसेर दुर्घटनाग्रस्त भएको हो।
सिरमौरका एसडीएम सुनील कुमार कैथले दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए।
दुर्घटनामा घाइते भएका सबै यात्रुलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको उनले बताए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान गरिने उनले जानकारी दिए।
यसैबीच, भारतको प्रधानमन्त्री कार्यालयले सिरमौर बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा घाइतेहरूका लागि आर्थिक सहयोगको घोषणा गरेको छ।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा जारी विज्ञप्तिमा प्रधानमन्त्री राष्ट्रिय राहत कोष (PMNRF) बाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ तथा घाइतेहरूलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिने जनाएको छ।











प्रतिक्रिया