बझाङको चैनपुरस्थित सुर्मादेवी सिरक उद्योगमा आगलागी, करिब दुई करोडको क्षति

1.32k
Shares

बझाङ।

बझाङको सदरमुकाम चैनपुरमा शुक्रबार बिहान भएको आगलागीबाट सुर्मादेवी सिरक उद्योगसहित तीन वटा व्यवसाय जलेर ध्वस्त हुँदा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार किशोर खड्काको सुर्मादेवी सिरक उद्योग तथा अपेक्षा ट्रेड्स एण्ड सप्लायसमा सबैभन्दा बढी क्षति पुगेको छ। आगलागीबाट उद्योगमा रहेका लत्ताकपडा, धनमाल तथा उपकरण गरी १ करोड ५६ लाख ६६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सिरक उद्योगमा सल्किएको आगो नजिकै रहेको हरिनादेवी कठायतको होटलमा फैलिँदा करिब १५ लाख रुपैयाँ, मेनुका खत्रीको विशाल किराना पसल जलेर ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै, होटल र पसल वरिपरिका अन्य व्यवसायीहरूको सामान ओसारपसार गर्ने क्रममा करिब ५ लाख रुपैयाँ बराबरको सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले जानकारी दिए।

आगो सिरक उद्योगमा रहेको रुई बनाउने मेसिनमा विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि आगलागीको यकिन कारण अझै खुल्न नसकेको डिएसपी धमलाले बताए।

उनले भने, “ताप्न बालिएको आगोबाट हो कि विद्युत सर्ट भएर आगो लागेको हो भन्ने विषयमा अझै यकिन भएको छैन।”

बिहान करिब ९ः३० बजेतिर सल्किएको आगोलाई स्थानीयवासी, नेपाली सेना र प्रहरीले संयुक्त प्रयासमा नियन्त्रणमा लिएका थिए। आगो अन्यत्र फैलिन नदिन छेउछाउका टहराहरू हटाइएको थियो।

स्थानीयवासीहरूले भने दमकल समयमै नपुगेका कारण क्षति बढेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, “दमकल समयमै आएको भए आगो छिट्टै नियन्त्रणमा लिन सकिन्थ्यो र यति धेरै क्षति हुने थिएन।”

यसअघि पनि चैनपुरमा भएका आगलागीका घटनामा दमकल ढिलो पुग्दा समयमै आगो नियन्त्रण हुन नसकी ठूलो क्षति हुने गरेको स्थानीयको गुनासो छ।