ट्रम्पको ठूलो कदमः अमेरिका ६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले संयुक्त राष्ट्रसंघसँग आबद्ध तथा अन्य गरी ६६ वटा अन्तर्राष्ट्रिय संस्था, आयोग र एजेन्सीबाट अमेरिका बाहिरिने निर्णयमा हस्ताक्षर गरेका छन्। यससँगै अमेरिका विश्वव्यापी बहुपक्षीय सहकार्यबाट थप पछि हट्ने दिशामा अघि बढेको स्पष्ट संकेत देखिएको छ। ह्वाइट हाउसद्वारा जारी राष्ट्रपति ज्ञापनअनुसार ३१ संयुक्त राष्ट्र निकाय र ३५ गैर–संयुक्त राष्ट्र संस्था बाट अमेरिकी सहयोग र सहभागिता निलम्बन गरिएको हो।

ट्रम्प प्रशासनले ती संस्थाहरूलाई “बेकार, हानिकारक, कुप्रबन्धित र अमेरिकाको सार्वभौमिकताका लागि खतरा” भएको दाबी गरेको छ। निर्णयको सबैभन्दा ठूलो असर जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय पहलहरूमा पर्ने देखिएको छ। अमेरिकाले सन् १९९२ मा स्थापना भएको संयुक्त राष्ट्र जलवायु परिवर्तन रूपरेखा सम्मेलन युएनएफसीसीसी बाट समेत हात झिकेको छ, जुन ऐतिहासिक पेरिस जलवायु सम्झौताको आधार हो।

ट्रम्पले जलवायु परिवर्तनलाई लामो समयदेखि धोखा भन्दै आएका छन् र ह्वाइट हाउस फर्किनासाथ अमेरिकालाई पेरिस सम्झौताबाट पनि औपचारिक रूपमा बाहिर निकालेका थिए। यसैगरी, भारत र फ्रान्सको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज आइपीसीसी र इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसीएन ) जस्ता प्रमुख वातावरणीय संस्थाबाट पनि अमेरिका बाहिरिएको छ।

यी हुन् अमेरिका बाहिरिएका प्रमुख यूएन निकाय ह्वाइट हाउसका अनुसार अमेरिका अब डिपार्टमेन्ट अफ इकनमिक एन्ड सोसल अफेयर्स, इन्टरनेशनल ल कमिसन, इन्टरनेशनल ट्रेड सेन्टर, पीसबिल्डिङ कमिसन, यूएन इनर्जी, यूएन पपुलेसन फण्ड र यूएन वाटर लगायतका निकायसँगको सहकार्यबाट अलग भएको छ। ट्रम्प प्रशासनले यी निकायलाई “डाइभर्सिटी र ‘वोक’ एजेन्डा प्रवर्द्धन गर्ने” आरोप लगाएको छ। दर्जनौँ अन्य अन्तर्राष्ट्रिय संस्था पनि सूचीमा अमेरिका बाहिरिने अन्य संस्थाहरूमा इन्टरनेशनल एनर्जी फोरम, इन्टरनेशनल रिन्यूएबल एनर्जी एजेन्सी, ग्लोबल काउन्टर टेररिज्म फोरम, कार्बन–फ्री एनर्जी कम्प्याक्ट लगायत दर्जनौँ बहुपक्षीय संस्था रहेका छन्।

ह्वाइट हाउसले अब संयुक्त राष्ट्रलाई दिइने आर्थिक सहयोग पनि “आ–ला–कार्ट” शैलीमा, अर्थात् ट्रम्पको एजेन्डासँग मेल खाने कार्यक्रमलाई मात्र सीमित रूपमा सहयोग गर्ने नीति अपनाइने स्पष्ट पारेको छ। विश्वव्यापी चिन्ता स्वतन्त्र गैर–सरकारी संस्थाहरूका अनुसार अमेरिकाले यूएसएडमार्फत दिँदै आएको विदेशी सहायता कटौती गरेपछि थुप्रै विकास तथा मानवीय परियोजनाहरू बन्द भइसकेका छन्।

विज्ञहरूले विश्वकै ठूलो उत्सर्जक र प्रमुख अर्थतन्त्रमध्ये एक अमेरिका बिना जलवायु परिवर्तनसँग लड्न विश्वलाई गम्भीर कठिनाइ पर्ने चेतावनी दिएका छन्। यसअघि पनि ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठन डब्लुएचओ युनेस्को, संयुक्त राष्ट्र मानव अधिकार परिषद र फिलिस्तीनी शरणार्थीसम्बन्धी यूएन एजेन्सी बाट अमेरिकी समर्थन निलम्बन गरिसकेको थियो। जनवरी २०२५ मा डब्लुएचओ बाट बाहिरिँदा ट्रम्पले कोभिड–१९ महामारीको कुप्रबन्धन लाई कारण बताएका थिए।