कोशी प्रदेश सरकारमा सबै मन्त्री फेरिए

कांग्रेसबाट ५ र एमालेबाट ५

752
Shares

विराटनगर ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले मंगलवार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाँले सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनुभएको छ ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको छ । नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ ।

सरकारमा दुवै दलबाट समान ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री सहभागी छन् । सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त हुनुभएको छ । कोशीमा गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी गरेका थिए ।

यसअघि सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई हुनुहुन्थ्यो । कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम रहनुभएको थियो ।