ललितपुर मेयर कप ब्याडमिन्टन आजबाट


ललितपुर ।

थो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ भोली मंगलबारबाट हुने भएको छ । पाँच दिनसम्म संचालन हुने प्रतियोगिता ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा हुनेछ । यो ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा संचालन हुने छ ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा ६ विधामा करिव २ सय २६ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले बताए । प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको छ भने प्रतियोगिताको पुरस्कार रासी ४ लाख २५ हजार रहेको छ ।

यस संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फको पुरस्कार रासीमा बृद्धि गरिएको सचिव रदीप महर्जनले जानकारी गराए । पुरुष र महिला एकल तथा पुरुष युगलतर्फ शीर्ष दुई स्थान हासिल गर्नेलाई १० हजार बढाएर ५० हजार र २५ हजार पुरस्कार दिइनेछ । तेस्रो स्थानको लागि भने १० हजार नै गरिएको छ ।

यसैगरी यु–१७ पुरुष तथा महिलाका शिर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका बिजेताले नगद ३० हजार, १५ हजार र ७५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई विहानको खाजा तथा खानाको ब्यवस्था आयोजक स्वयंले गर्नेछन् ।