काठमाडौं ।
काठमाडौं महानगरपालिकाले ७० वर्ष नाघेका २८ हजार ३२ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने भएको छ । कामपाको यो महत्वाकांक्षी योजना माघबाट सुरु हुनेछ । कामपा स्वास्थ्य विभागले सो विषयमा आज मंगलवार सबै वडाध्यक्ष, महानगरका चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेर लागू गर्नेछ ।
कामपाको स्वास्थ्य वडा कार्यक्रम कार्यान्वयन गर्न र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणको मोडालिटीको बारेमा जानकारी दिन विभागले सबै वडाध्यक्षसँग छलफल सुरु गर्नेछ । कामपा जनस्वास्थ्य विभाग प्रमुख दीपक केसीले कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आज मंगलवार सबै सरोकारवालासँग छलफल गर्ने बताउनुभयो ।
‘अस्पतालसम्म पुग्न समस्या परेका दीर्घरोगी तथा बिरामी ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा सुरु गर्न लागेका हौं’ –विभागीय प्रमुख केसीले भन्नुभयो । कार्यक्रम लागू हुनासाथ चिकित्सक र नर्सको टोली ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरमा पुग्नेछन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझेर थप उपचार आवश्यक परे कामपाको सहरी स्वास्थ्य केन्द्रमा पठाउन सिफारिस गर्नेछन् ।
जटिल खालको उपचार आवश्यक परे अस्पतालमा व्यवस्था गर्नेछ । कामपाभित्रका ३२ वटै वडामा सञ्चालित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत चिकित्सक र स्टाफ नर्समार्फत यो सेवा प्रदान हुनेछ । केसीका अनुसार स्वास्थ्य घरघरमा पुग्ने चिकित्सक र नर्सको टोलीलाई आवश्यक तालिम दिइसकेको छ ।
स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त ज्येष्ठ नागरिक भत्ता परिचय पत्र वा कर्मचारी परिचयपत्र वा वडा कार्यालयको सिफारिसपत्र अनिवार्य गरेको छ । घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले आवश्यकताको आधारमा थप उपचार गर्न सुझाव दिनेछ ।
कामपाले ज्येष्ठ नागरिकका लागि फिजिसियन र इन्टरनल मेडिसिन, नाक, कान, घाँटी रोग, स्त्रीरोग, पेट रोग, मधुमेय, चर्म तथा यौन, आँखा तथा मोतियाबिन्दु परीक्षण गर्नेछ । त्यस्तै, हाडजोर्नी र नशा, जनरल हेल्थ चेकअप, दन्त, मुटु, ड्रेसिङलगायत दुई दर्जन बढी सेवा दिनेछ । त्यस्तै, घरघरमा पुग्ने चिकित्सकले ज्येष्ठ नागरिकले हालसम्म सेवन गरेका औषधिको विवरणसमेत तयार गर्नेछ ।
कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक एवं कामपा वडा २२ का अध्यक्ष चीनकाजी महर्जनले ज्येष्ठ नागरिकको घरघरमा गएर सेवा दिनु जटिल रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘महानगरभित्रका घरघरमा जानै समस्या पर्छ, त्यसमा पनि घरमा रहेका ज्येष्ठ नागरिक आफैंले विभिन्न सेवा लिइरहेका हुन्छन् ।’
‘हामीले गर्न लागेको सेवा उत्कृष्ट बनाउन केही वर्ष लाग्नेछ तैपनि महानगरवासीलाई यस प्रकारको सेवा दिन सुरुवात गर्न लागेका हौं’ –संयोजक महर्जनले भन्नुभयो । विभागले भनेजस्तो तत्काल काम गर्न चुनौती रहेको उहाँको धारणा थियो । विभागले एउटा वडामा रोगको प्रकृति हेरेर सेवा दिनेछ ।
तथ्यांकअनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको सबैभन्दा धेरै संख्या कामपा १६ वडामा छ । सो वडामा १५९५ ज्येष्ठ नागरिक रहेका छन् । सबैभन्दा कम वडा नं १८ मा रहेको छ । सो वडामा ४०९ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् । विभागका अनुसार कामपाका ३२ वटै वडामा ४४ जना चिकित्सक छन्, वडा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सहयोगमा घरघरमा स्वास्थ्य परीक्षण गरिनेछ ।
बढ्दो उमेरको कारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास समस्या, जोर्नी दुखाइ, दम, मानसिक तनावजस्ता समस्याले ज्येष्ठ नागरिकलाई दुःख दिन थालेको छ । त्यस्ता रोग लाग्न नदिन र ज्येष्ठ नागरिकलाई स्वस्थ बनाउन नयाँ कार्यक्रम सुरु गर्न लागेको विभाग प्रमुख केसीको भनाइ थियो ।
कामपाले सेवाको प्रारम्भिक चरणमा स्टाफ नर्सले घरमै पुगेर ज्येष्ठ नागरिकको सम्पूर्ण स्वास्थ्य अवस्थाको विवरण संकलन गर्नेछन् । ती नागरिकको मानसिक स्वास्थ्य, उच्च रक्तचाप, मधुमेह परीक्षण, तौल, उचाइ, तापक्रम जाँच, दैनिक जीवनशैली र औषधि सेवनबारे जानकारी लिनेछ । त्यसपछि थप उपचार आवश्यक परेमा चिकित्सकले घरमै पुगेर थप उपचार गर्ने व्यवस्था मिलाएको छ ।











प्रतिक्रिया