काठमाडौं ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादको बाटो खोल्न चाहेको संकेत गरेकी छन्। कार्यवाहक राष्ट्रपतिको रूपमा पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न गर्दै रोड्रिगेजले शान्ति, सार्वभौमिकता र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्ने नीति सार्वजनिक गरेकी हुन्। बैठकपछि जारी विज्ञप्तिमा रोड्रिगेजले भेनेजुएला शान्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकासँग “सन्तुलित, सम्मानजनक र अन्तर्राष्ट्रिय कानुनअनुरूपको सम्बन्ध” विकास गर्न इच्छुक रहेको बताइन्।
उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनी ढाँचाभित्र रही “सहयोगको साझा एजेन्डा अघि बढाउन” आह्वान गरेकी छन्। “राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन्,” रोड्रिगेजले भनिन्, “यो सन्देश सधैं राष्ट्रपति निकोलस मादुरोले दिँदै आउनुभएको हो र अहिले यो सम्पूर्ण भेनेजुएलाको साझा आवाज बनेको छ।” उनले भेनेजुएलालाई शान्ति, विकास, सार्वभौमिकता र आफ्नै भविष्य निर्धारण गर्ने पूर्ण अधिकार रहेको दोहोर्याउँदै बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।
लामो समयदेखि अमेरिकी प्रतिबन्ध, राजनीतिक दबाब र कूटनीतिक तनाव झेल्दै आएको भेनेजुएलाले पछिल्लो समय अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ सन्तुलन खोज्न थालेको संकेत उनका भनाइबाट झल्किन्छ। यद्यपि, भेनेजुएलाको यस प्रस्तावसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले फेरि तनावको संकेत दिएको छ। ट्रम्पले हालै दिएको वक्तव्यमा “अब भेनेजुएलाको कमान्ड अमेरिकाको हातमा छ” भन्ने दाबी दोहोर्याएका छन्। उनको यस अभिव्यक्तिलाई भेनेजुएलाको सार्वभौमिकतामाथि प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ।
विश्लेषकहरूका अनुसार रोड्रिगेजको सन्देश कूटनीतिक संवादमार्फत सम्बन्ध सुधार गर्ने प्रयास हो भने ट्रम्पको भनाइ पुरानै कठोर अमेरिकी नीति र शक्ति प्रदर्शनको निरन्तरता हो। दुवै पक्षका यस्ता विपरीत संकेतले भेनेजुएला–अमेरिका सम्बन्ध अझै पनि जटिल र अनिश्चित रहेको देखाउँछ। लैटिन अमेरिकी क्षेत्रका राजनीतिक विश्लेषकहरूले भेनेजुएलामा जारी सत्ता संक्रमण, आन्तरिक आर्थिक दबाब र अन्तर्राष्ट्रिय शक्तिसन्तुलनका कारण कूटनीतिक लचकता बढेको बताउँदै आएका छन्।
तर, अमेरिकाको स्पष्ट नीतिगत परिवर्तनबिना सम्बन्ध सुधार सहज नहुने उनीहरूको ठम्याइ छ। रोड्रिगेजको प्रस्तावले संवादको ढोका खोले पनि त्यसको वास्तविक परीक्षण अमेरिकाको प्रतिक्रिया र आगामी कूटनीतिक कदमले गर्ने देखिन्छ। शान्ति र सहकार्यको आह्वान व्यवहारमा कति रूपान्तरित हुन्छ भन्ने प्रश्न भने अझै खुलै छ।











प्रतिक्रिया