काठमाडौं ।
नयाँ वर्षको दिनदेखि हराइरहेकी एक भारतीय महिलाको शव अमेरिकाको मेरील्याण्ड राज्यमा रहेको उनको पूर्व प्रेमीको अपार्टमेन्टबाट फेला परेको छ। महिलाको शरीरमा चक्कु प्रहारका घाउ भेटिएको र घटनालाई हत्या मान्दै प्रहरीले पूर्व प्रेमीविरुद्ध मुद्दा दायर गरेको छ। हावर्ड काउन्टी प्रहरीका अनुसार २७ वर्षीया निकिता गोडिशाको शव उनका पूर्व प्रेमी अर्जुन शर्माको कोलम्बिया क्षेत्रस्थित अपार्टमेन्टमा फेला परेको हो।
प्रहरीले शर्माविरुद्ध पहिलो र दोस्रो डिग्री हत्याको अभियोग लगाउँदै पक्राउ वारेन्ट जारी गरेको जनाएको छ। प्रहरीका अनुसार अर्जुन शर्माले जनवरी २ मा निकिता हराएको भन्दै रिपोर्ट दिएका थिए। तर सोही दिन उनी संयुक्त राज्य अमेरिकाबाट भारततर्फ फरार भएका थिए। अनुसन्धानका क्रममा डिसेम्बर ३१ को साँझ करिब ७ बजेतिर निकिताको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।
हावर्ड काउन्टी प्रहरीले अभियुक्त शर्माको खोजीका लागि अमेरिकी संघीय एजेन्सीहरू तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरिरहेको छ। अमेरिकी वकिलको कार्यालयले इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने तयारी गरिरहेको जनाएको छ। रेड नोटिस भारतसहित करिब २०० देशमा संदिग्ध व्यक्तिबारे जानकारी प्रवाह गरी पक्राउका लागि सहयोग गर्न जारी गरिन्छ। अमेरिका र भारतबीच सुपुर्दगी सन्धि रहे पनि अभियुक्तलाई भारतबाट अमेरिका ल्याउने प्रक्रिया लामो समय लाग्न सक्ने बताइएको छ।
यसैबीच, भारतीय दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत विज्ञप्ति जारी गर्दै निकिताको परिवारसँग सम्पर्कमा रहेको र सबै सम्भावित सहयोग प्रदान गरिएको जनाएको छ। निकिता गोडिशा स्वास्थ्य सेवा पेशेवर तथा डेटा विश्लेषण विशेषज्ञ थिइन्। उनले भारतको जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटीबाट डाक्टर अफ फार्मेसी (फार्मडी) डिग्री हासिल गरेकी थिइन्।
त्यसपछि उनले अमेरिकाको मेरील्याण्ड विश्वविद्यालय, बाल्टिमोर काउन्टीबाट स्वास्थ्य सूचना प्रविधिमा स्नातकोत्तर अध्ययन पूरा गरेकी थिइन्। प्रहरीका अनुसार अर्जुन र निकिताबीचको प्रेम सम्बन्ध अन्त्य भइसकेको थियो, यद्यपि उनीहरूबीच सम्पर्क जारी थियो। घटनाको वास्तविक कारण भने अझै स्पष्ट हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया