नाइजेरियाली गाउँमा बन्दुकधारीको आक्रमण, ३० को मृत्यु, दर्जनौँ अपहरण


काठमाडौँ।

नाइजेरियाको नाइजर राज्यस्थित एक गाउँमा बन्दुकधारी समूहले आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक अपहरणमा परेका छन्।

नाइजेरियाली प्रहरीका अनुसार हतियारधारीहरू जङ्गलबाट निस्केर स्थानीय बजारमा प्रवेश गरी अन्धाधुन्ध आक्रमण गरेका थिए। आक्रमणका क्रममा बजारमा आगजनी गर्नुका साथै पसलहरू लुटपाट गरिएको प्रहरीले जनाएको छ।

अपहरणमा परेकाहरूको उद्धारका लागि सुरक्षा निकायले खोज तथा उद्धार अभियान तीव्र पारेको छ।

यसअघि पनि सो क्षेत्र सामूहिक अपहरणको चपेटामा परेको थियो। गत वर्ष नोभेम्बरमा एक क्याथोलिक विद्यालयबाट २०० भन्दा बढी बालबालिका र कर्मचारी अपहरणमा परेका थिए, जसलाई डिसेम्बरमा सुरक्षाकर्मीले उद्धार गरेका थिए।

नाइजेरियामा पछिल्लो समय सशस्त्र समूहद्वारा सामूहिक अपहरण र हिंसात्मक घटनाहरू बढ्दै गएका छन्।