रञ्जन र रविनलाई उपाधि


काठमाडौं ।

रञ्जन कँडेल र रविन चेपाङले प्रथम कायक च्याम्पियनसिपको उपाधि जितेका छन् ।

त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमाछ रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन् । रञ्जन केही समयअघि चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका कांस्य पदक विजेता खेलाडी पनि हुन् ।

हिमालय रिभर गाइड संघको कायोजनामा भएको च्याम्पियनसिपको बोर्डरक्रस विधामा मोहन राना दोस्रो, लक्ष्मण गुरुङ तेस्रो, सुमन थापा चौथो र सविन गुरुङ पाँचौं भएका थिए । यसैगरी फ्रिस्टाइल विधामा अमृत थापाले दोस्रो स्थान हासिल गरे भने मोहन राना तेस्रो स्थानमा रहे । यस विधाको ओभरल च्याम्पियन भने मोहन राना बन्न सफल भए । च्याम्पियनसिपमा स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्य पदक विजेतालाई पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

हिमालय रिभर गाइड संघका अध्यक्ष डोलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पदक विजेता खेलाडीलाई नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले नेपालमा र्याफ्टिङ एन्ड क्यानोइङको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले हालै चीनको नुजियाङमा भएको एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपाली खेलाडीले हासिल गरेको सफलतामा यस्ता प्रतियोगिताले पनि ठूलो भूमिका खेलेको बताउँदै खेलाडीलाई निखार्न प्रतियोगिताहरु भइरहनु पर्नेमा जोड दिएका थिए ।