काठमाडौं ।
सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी पहिलो ऐतिहासिक खेलाडीमध्येका एक पूर्व बक्सर नामसिंह थापाको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित थापाको शनिबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो । उनले हङकङस्थित ‘हेभेन अफ होप’ अस्पतालमा अन्तिम सास फेरेका थिए ।
मात्र १४ वर्षको उमेरमा ब्रिटिस सेनामा ‘ब्वाय सोल्जर’ का रूपमा भर्ना भएका थापाले २÷६ गोर्खा राइफल्समा कार्यरत रहँदा बक्सिङमा आफ्नो विशिष्ट पहिचान बनाएका थिए । उनले तत्कालीन राजा महेन्द्रको स्वीकृतिमा पहिलो पटक ओलम्पिकमा नेपालको झण्डा फहराउने सौभाग्य पाएका थिए ।
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई नेपाली खेलकुद क्षेत्रका लागि अपूरणीय क्षति बताएका छन् । उनले भने, “बक्सिङ खेलप्रतिको उहाँको समर्पण र लगाव हामी सदैव सम्झिरहनेछौँ ।”
२७ वर्ष ब्रिटिस सेनामा सेवा गरी क्याप्टेन पदबाट अवकाश पाएका थापाले नेपालको राप्ती अञ्चलमा कल्याणकारी अधिकृतका रूपमा समेत सेवा गरेका थिए ।
हङकङको ‘कोलोनी बेल्ट’ प्रतियोगितामा अन्यायपूर्ण निर्णय हुँदा समेत नागरिकताको प्रलोभनलाई त्यागेर नेपाली पहिचानलाई प्राथमिकता दिएका उनी एक सच्चा राष्ट्रभक्त खेलाडीका रूपमा चिनिन्थे । उनका श्रीमती, एक छोरा र चार छोरीहरू छन् ।











प्रतिक्रिया