लोककथा: शिवलिङ्गमा आफ्नो आँखा चढाउने भक्त कन्नप्पा

846
Shares

एकजना यस्ता भक्त पनि थिए, जसले शिवलिङ्गमा मासु चढाउँथे र मुखभरी पानी ल्याएर शिवलिङ्गको अभिषेक गर्थे । महादेवलाई विधिविधानअनुसार पूजा गर्नुपर्छ भनी विभिन्न प्रकारका पूजा पद्धतिको विधान वर्णन गरिएको पाइन्छ । शिवलिङ्गमा एक लोटा चोखो जल चढाउनुपर्छ, भक्तहरुको सबै समस्या समाधान हुन्छ भनिएको छ । तर महादेवका एक यस्ता भक्त जसले लोटामा होइन मुखमा पानी भरेर ल्याउँथे अनि शिवलिङ्गमा चढाउँथे र मासु पनि चढाउँथे । ती भक्त एक सिकारी थिए । ती सिकारीको नाम थियो, कन्नप्पा । दिनहुँ यसरी नै पूजा गर्थे कन्नप्पाले महादेवलाई ।

त्यस मन्दिरका पुजारी भने सिकारीले यसरी शिवलिङ्गमा पूजा गरिराखेको देखेर धेरै दुःखी भए । एकदिन महादेवले आफ्ना पुजारी दुःखी भएको देखेर कन्नप्पाको परीक्षा लिए तर उनले त आफ्नो आँखा निकालेर शिवलिङ्गमा चढाइदिए । यस्ता महान् शिवभक्तलाई शैव सम्प्रदायमा नयनार मानिन्छ । उनै शिवभक्त कन्नप्पाको बारेमा संक्षिप्त रुपमा जानौं ।

प्रायः सबैले भन्ने गर्छन्– भगवान् केवल भावका भोका हुन्छन् । उसै त भोलेनाथ महादेव आफ्ना गणादिको साथमा मग्न भएर बस्छन् र सच्चा मनले चढाएको एक लोटा जलबाटै खुशी हुन्छन् । शिवको महिमा अपरम्पार छ । उनले आफ्ना भक्तलाई पलभरमै सम्पूर्ण इच्छा पूरा गरिदिन्छन् र आनन्दित बनाइदिन्छन् । यस्तै एक शिवभक्त भए कन्नप्पा । कन्नप्पाको शिवभक्तिबारे दक्षिण भारतमा जो–कोहीलाई ज्ञात छ । अन्य स्थानमा भने यसबारेमा थोरैलाई मात्र जानकारी होला । कन्नप्पा सिकारीको शिवभक्ति यति रोचक छ कि उनको बारेमा एक तेलुगु फिल्म पनि बन्यो, जसमा बलिउडका कलाकार अक्षय कुमारले पनि अभिनय गरेका छन् । यसको चर्चा उत्तर भारतमा पनि छ । हुन त यसभन्दा अघि पनि कैयौं फिल्ममा कन्नप्पालाई देखाइएको थियो ।

कन्नप्पा को हुन् र उनको शिवभक्ति भिन्नै किन थियो ? सिकारी समुदायका थिए कन्नप्पा । भनिन्छ कि कन्नप्पा तमिलनाडु र आन्ध्रप्रदेशको सीमासँगैको जंगलमा बस्थे । उनको असली नाम थिन्नत थियो । उनले दिनहुँ सिकार गरेरै परिवारको पालनपोषण गर्दथे । कन्नप्पा सिकार गर्न जंगलमा दिनहुँ जान्थे । यो उनको दिनचर्या बनिसकेको थियो । एकदिन सिकार गर्दै जाँदा कालाहस्ती नामक स्थानमा पुगे । हाल यो स्थानलाई आन्ध्र प्रदेशको श्रीकालहस्ती भनिन्छ । त्यहाँ उनले एउटा शिवलिङ्ग देखे । त्यहाँ पुजारीले दिनहुँ पूजा गर्दथे ।

कन्नप्पाले शिवलिङ्गको पूजा पुजारीले गरिरहेको देखेर आकर्षित भएर उनको मनमा पनि पूजा गर्ने भाव जाग्यो । उनको मनमा भक्ति पलाउन थाल्यो । तर उनलाई विधिवत् रुपमा पूजा गर्न आउँदैनथ्यो । उनले आफ्नो स्वभावको हिसाबले पूजा गर्न थाले । उनले दिनहुँ सिकार गरेपछि शिवलिङ्गमा काँचो मासु चढाउँथे । अनि शिवलिङ्गमा जलाभिषेक गर्नका लागि उनी नदीको पानी मुखभरी ल्याएर चढाइदिन्थे । जंगलका फूलापाती ल्याएर सफा नगरीकनै त्यत्तिकै चढाइदिन्थे ।

शिवलिङ्गमा यसरी अशुद्ध पारिराखेको देखेर त्यहाँका पुजारी क्रुद्ध भए । शुरुमा त उनलाई लाग्यो कि यो कुनै जनावरको काम होला भन्ने । तर दिनहुँ यस्तो हुन लागेको देखेर उनलाई लाग्यो– यो त जरुर कोही मानिसकै काम होला । ती पुजारी अत्यन्तै दुःखी भएर शिवलिङ्गको सामु राएर गुहार माग्दै भन्न थाले– ‘हे प्रभु ! हजुरले आफूलाई यस्तो किन हुन दिनुभयो ? जबकि हजुर नै पूरै बह्माण्डको रक्षा गर्नुहुन्छ तर कोही हजुरलाई नै अपवित्र पार्दै छ भने हजुरले आफैँलाई बचाइरहनुभएको छैन ।’ पुजारीको यस प्रकारको पुकार सुनेर महादेवले पुजारीको मनमा सन्देश पठाउनुभयो– ‘यो मेरो भक्तको काम हो । उसलाई पूजा गर्न आउँदैन तर ऊ मलाई श्रद्धाभावले प्रेम गर्छ । म उसको भक्तिबाट प्रसन्न छु । यदि तिमी हेर्न चाहन्छौ भने लुकेर हेर्नु कि उसको मप्रति कति प्रेम छ रहेछ भन्ने ।’

यसपछि महादेवले कन्नप्पासँग परीक्षा लिए । जब कन्नप्पा पूजा गर्न आए र मासु चढाएर मुखमा ल्याएको पानी अनि जंगली फूल चढाए । तब शिवलिङ्गको एउटा आँखाबाट रगत बग्न थाल्छ । यस्तो देखेर टाढैबाट लुकेर हेरी बसेका पुजारी हडबडाउँछन् । कन्नप्पाले भने जडीबुटी लगाइदिन्छन् तर रगत रोकिँदैन । के गरुँ, के गरुँ भयो र कन्नप्पाले आफ्नै एउटा आँखा निकालेर शिवलिङ्गको आँखामा चढाइदिन्छन् । यसो गरेपछि बगेको रगत रोकिन्छ । तर फेरि शिवलिङ्गको दोस्रो आँखाबाट पनि रगत बग्न थाल्छ । यस्तो देखेर कन्नप्पाले आफ्नो दोस्रो आँखा निकाल्न सोच्छन् । तर पहिलो आँखा निकालिसकेकोले शिवलिङ्गलाई ठम्याउन उनले आफ्नो खुट्टाको औंला शिवलिङ्गमा राखिदिन्छन् । अनि फेरि आफ्नो दोस्रो आँखा निकाल्न खोज्छन् ।

जब कन्नप्पाले आफ्नो दोस्रो आँखा निकाल्नै लागेका थिए तब महादेव प्रकट भएर उनलाई दोस्रो आँखा दिन रोकिदिन्छन् । अनि कन्नप्पालाई पुनः दृष्टि प्रदान गर्दै आफ्नो चरणमा स्थान दिन्छन् । त्यसपछि महादेवले थिन्नतलाई कन्नप्पाको उपाधि दिन्छन् । कन्नप्पा शैव सम्प्रदायको ६३ सन्तमध्ये एक मानिन्छन् । यति मात्र होइन, श्रीकालहस्तीमा कन्नप्पाको मन्दिर पनि रहेको छ ।