काठमाडौं ।
नेपाल प्रहरीमा एकैपटक १० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयले ३ एसएसपीको दरबन्दी थप गर्न स्वीकृति दिएसँगै बढुवा प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। केही दिनभित्रै मन्त्रिपरिषद् बैठकबाट उक्त दरबन्दी स्वीकृत हुने तयारी छ। हाल नेपाल प्रहरीमा ७ एसएसपी पद रिक्त छन्। ती रिक्त पदसँगै थपिने ३ दरबन्दी जोडिँदा कुल संख्या १० पुगेको हो। यी पदका लागि हाल १७ जना वरिष्ठ अधिकृतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। बढुवाको दौडमा को–को ? बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी रहेका छन्।
शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् भने तिवारी २०५५ सालमा असईबाट सेवा प्रवेश गरेका हुन्। तिवारी हालका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरका जिल्लावासीसमेत हुन्। रिक्त एसएसपी पदका लागि तेस्रो नम्बरमा ऋषिराम कँडेल र चौथो नम्बरमा एसपी सुरेश काफ्ले छन्। काफ्ले दाङ र बारा जिल्लामा कार्यरत रहँदा विभिन्न विवादमा तानिएका अधिकृतका रूपमा चिनिन्छन्।
पाँचौं नम्बरमा अमरेन्द्रबहादुर सिंह छन्। उनी प्रहरी उपरीक्षक भएपछि लामो समय संयुक्त राष्ट्रसंघीय (यूएन) मिसनमा खटिए पनि हालसम्म जिल्ला कमाण्ड सम्हालेका छैनन्। छैटौं नम्बरमा श्यामसिंह चौधरी रहेका छन्। त्यसपछि क्रमशः नकुल पोखेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही बढुवाको सूचीमा रहेका छन्। राजकुमार सिलवाल बारा–पथलैया ट्राफिक कार्यालयमा रहँदा विवादमा परेका अधिकृत हुन्। अधिकांश प्रतिस्पर्धी २०५८ साउन १८ को खुला इन्स्पेक्टर ब्याचका अधिकृत हुन्, जसका २५ जना सिनियर अधिकृत यसअघि नै एसएसपी भइसकेका छन्। ११४ टोलीका अधिकृतहरू अगाडि भुवनेश्वर तिवारी ११४ टोलीअन्तर्गत २०५८ साउन १८ मा इन्स्पेक्टरमा नाम निकालेका अधिकृत हुन्।
उनी २०६९ फागुन १३ मा डीएसपीमा बढुवा भएका थिए। यद्यपि, डीएसपीदेखि नै उनी बढुवामा केही पछि पर्दै आएका थिए। ११४ टोलीका अधिकांश अधिकृतहरू हाल एसएसपी भइसकेका छन्। २०८१ माघमा भएको बढुवामा रमेश थापासहित २५ जना एसपी एसएसपीमा बढुवा भएका थिए। जिल्ला प्रमुखहरूको सरुवा पनि तयारीमा एसएसपी बढुवा प्रक्रिया अघि बढेसँगै केही महत्वपूर्ण जिल्लाका प्रहरी प्रमुखहरूको सरुवा पनि तयारी चरणमा पुगेको छ।
हाल एसएसपी रमेश थापा काठमाडौं प्रहरी प्रमुख, नवराज अधिकारी उपत्यका ट्राफिक, कृष्णप्रसाद कोइराला लागुऔषध नियन्त्रण ब्युरो, होविन्द्र बोगटी ललितपुर, कृष्णप्रसाद पंगेनी मानव बेचबिखन अनुसन्धान ब्युरो र शिवकुमार श्रेष्ठ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत छन्। अब मन्त्रिपरिषद्को निर्णयपछि बढुवा सूची सार्वजनिक हुने र त्यससँगै नेपाल प्रहरीको उच्च तहमा ठूलो प्रशासनिक हेरफेर हुने संकेत देखिएको छ।











प्रतिक्रिया