काठमाडौं।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै आमरण अनसनमा बसेका चिकित्सक डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उहालाई वीर अस्पतालमा भर्ना गरिएको छ । बुधबार दिउँसो नेपाल चिकित्सक संघको पहलमा भुसाललाई अस्पताल भर्ना गरिएको हो ।
नेपाल चिकित्सक संघद्वारा जीवन रक्षा गर्न सरकारसँग तत्काल हस्तक्षेपको माग
लामो समयदेखि अनसनमा रहेका डा. भुसालमा अत्यधिक कमजोरी, निर्जलीकरण, रक्तचाप असन्तुलनलगायत जटिल समस्या देखा परेको चिकित्सकहरूले जनाएका छन् । उनको अवस्था संवेदनशील बन्दै गएपछि थप जोखिम नहोस् भन्ने उद्देश्यले तत्काल अस्पताल भर्ना गरिएको वीर अस्पताल स्रोतले जनाएको छ ।
उनलाई माइतीघर मण्डलामै सलाईन चलाएर राखिएको थियो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डा. भुषाललाई भेटी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर बाहिरिए लगत्तै डा.भुषाललाई वीर अस्पताल लगिएको थियो ।
नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डा. भुसालको जीवन रक्षा गर्न नेपाल सरकारलाई गम्भीर र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संघले अनसनरत चिकित्सकको स्वास्थ्यमा आएको गिरावटप्रति गहिरो चिन्ता व्यक्त गर्दै ढिलाइ नगरी राजनीतिक तथा प्रशासनिक समाधान खोज्न सरकारसँग माग गरेको छ ।
डा. भुसालले सरकारका केही निर्णय र कार्यशैलीप्रति असहमति जनाउँदै शान्तिपूर्ण आन्दोलनका रूपमा आमरण अनसन सुरु गरेका थिए । उनले अन्तरिम सरकारको नेतृत्वप्रति नैतिक प्रश्न उठाउँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका थिए । अनसन सुरु भएयता उनको स्वास्थ्य निरन्तर खस्कँदै गएको थियो ।
चिकित्सक समुदाय र नागरिक समाजले अनसनरत चिकित्सकको अवस्था गम्भीर बन्दै गएकोप्रति चासो व्यक्त गर्दै आएका छन् । वीर अस्पतालका चिकित्सकका अनुसार अनसन जारी रहेमा डा. भुसालको स्वास्थ्यमा थप जटिलता देखिन सक्ने जोखिम उच्च छ । हाल उनलाई आवश्यक तरल पदार्थ, औषधि तथा नियमित परीक्षणमार्फत अवस्था स्थिर राख्ने प्रयास भइरहेको छ ।
यता, डा. भुसालको मागबारे सरकारको तर्फबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । नेपाल चिकित्सक संघले संवाद र वार्तामार्फत समस्याको निकास खोज्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिएको छ । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले भने बुधवार दिउँसो माईतीघर मण्डलामा अनसनरत डा.भुषाललाई भेटेर बाहिरिँदै गर्दा नेपाल समाचारपत्रको जिज्ञासामा अब केही हुन्छ भनेका थिए । डा. भुसालको स्वास्थ्य अवस्था, अनसनको निरन्तरता र सरकारको सम्भावित प्रतिक्रिया अबको राजनीतिक तथा चिकित्सकीय अवस्थाको केन्द्रमा रहने देखिएको छ ।











प्रतिक्रिया