एन्डोरा पठाइदिने भन्दै ६० लाखभन्दा बढी ठगी, नक्कली भिसा–टिकटसहित तीन जना पक्राउ


काठमाडौँ । 

रोजगारीका लागि युरोपेली मुलुक एन्डोरा पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली हवाई टिकट, भिसा, अफर लेटर देखाएर पीडितहरूलाई विदेश पठाइदिने विश्वास दिलाई ठगी गरिरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा २६ वर्षीय  विश्व ठकुरी भन्ने विश्व विक्रम सेन, ४४ वर्षीय  अर्जुन कुमार निरौला र ४८ वर्षीय गोपाल भन्ने प्रेम श्रेष्ठ  रहेका छन्। विश्व विक्रम सेन उदयपुर उदयपुरगढी गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् भने हाल काठमाडौँ महानगरपालिका–१६ मा बसोबास गर्दै आएका थिए। अर्जुन निरौला उदयपुर त्रियुगा नगरपालिका–१२ का स्थायी बासिन्दा भई हाल टोखा नगरपालिका–९ मा बस्दै आएका थिए। त्यस्तै, गोपाल भन्ने प्रेम श्रेष्ठ काठमाडौँ महानगरपालिका–१० का स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार उनीहरूलाई सोमबार काठमाडौँ महानगरपालिका–९ क्षेत्रबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले एन्डोरा देशमा कामदारको रूपमा जान प्रति व्यक्ति १५ लाख रुपैयाँ खर्च लाग्ने र मासिक तलब २ लाख ५० हजार रुपैयाँ हुने भन्दै रकम उठाउँदै आएको खुलेको छ।

उनीहरूले कातार एयरवेजको नक्कली हवाई टिकट देखाई पीडितहरूलाई विश्वासमा लिएका थिए।सोमबार साँझ ७ बजेर ४ मिनेटको समयमा पीडितहरूलाई बाँकी रकमसहित एन्डोरा जान भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो।

हालसम्म सम्पर्कमा आएका ९ जना पीडितहरूबाट कुल ५९ लाख ५० हजार रुपैयाँ असुली गरिएको प्रहरीले जनाएको छ।

सबै कागजात नक्कली

प्रहरी अनुसन्धानका क्रममा पीडितहरूको नाममा देखाइएका हवाई टिकट, भिसा, अफर लेटर लगायत सम्पूर्ण कागजात नक्कली रहेको पुष्टि भएको छ। विदेश रोजगारीको सपना देखाएर योजनाबद्ध रूपमा ठगी गरिएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ।

अन्य पीडितलाई जाहेरी दिन आग्रह

प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, पक्राउ परेका विश्व ठकुरी भन्ने विश्व विक्रम सेनलगायतको समूहले एन्डोरा मात्र नभई अन्य युरोपेली मुलुकमा समेत पठाइदिने भन्दै ठगी गरेको हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले उक्त समूहबाट ठगीमा परेका अन्य पीडितहरूलाई आवश्यक कागजातसहित जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँमा जाहेरी दिन आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।