पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश


काठमाडौँ।

पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ। बुधबार न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन् ।

दुई जनाबिचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।