नक्कली प्रहरी बनेर औषधि पसलमा धम्की दिई रकम असुली गर्ने दुई पक्राउ


काठमाडौँ । 

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी हौं भनी नक्कली परिचय दिएर औषधि पसलहरूमा डर–त्रास देखाई रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित एक औषधि पसलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले काठमाडौंका विभिन्न औषधि पसलमा गई पसलको खानतलासी गर्दै ‘तपाईंले लागुऔषध तथा अवैध औषधि बिक्री गर्नुभएको छ, नियन्त्रणमा लिन्छौं’ भन्दै धम्की दिने र त्यसको आडमा रकम असुल गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक, नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौँ, गोकर्णेश्वर नगरपालिका बस्ने ३७ वर्षीय आकाश भन्ने नानी बाबु लामा र जिल्ला दोलखा, मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ रहेका छन्।

उनीहरूलाई काठमाडौँ  जिल्ला अदालतबाट  ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र यस्तै गतिविधिमा संलग्न अन्य व्यक्ति पनि हुन सक्ने आशंकामा खोजी तीव्र पारिएको प्रहरीले बताएको छ।