काठमाडौं ।
काठमाडौं महानगरपालिका प्रहरी बलले राष्ट्रिय सङ्ग्रहालय छाउनीको जग्गामा डोजर चलाएको छ । महानगर प्रहरीले बुधवार बिहान संग्रहालयको जग्गामा डोजर चलाएको हो । डोजर आतङ्क भएपछि संग्रहालय प्रशासनले प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीमा क्षतिपूर्ति र सुरक्षाको माग गर्दै पत्र पठाएको छ ।
संग्रहाल प्रमुख नकर्मीद्वारा हस्ताक्षरित पत्रमा राष्ट्रिय सङ्ग्रहालय छाउनीको स्वामित्वमा रहेको महेन्द्र स्मृति सङ्ग्रहालयको दक्षिण पूर्वको बाटो किनारमा अवस्थित १ रोपनी ८ आना १ पैसा जग्गामा रहेको सङ्ग्रहालयको सुरक्षा र सरसफाइ कार्यसंग सम्बन्धित कर्मचारीहरुले आवासको रुपमा प्रयोग गरिरहेको तीनवटा आवासगृहराहरू कम्पाउण्ड समेत भत्काएको उल्लेख गरेको छ ।
कामपा प्रहरीले यस कार्यालयलाई कुनैपनि औपचारिक जानकारी नगराई यस कार्यालयको तर्फबाट प्रमाणहरु उल्लेख गरी पटक पटक लेखिएको पत्रलाई समेत बेवास्ता गरी बुधवार बिहान ८ बजे अनधिकृत रूपमा एक्कासि भत्काई सरकारी सम्पत्ति तथा कर्मचारीको निजी सम्पत्तिसमेतमा क्षति पु¥याएको आरोप लगाएको छ ।
पत्रमा क्षति पु¥याउन संलग्नहरुबाट क्षति भएका सबै सम्पत्तिको क्षतिपूर्ति भराई उक्त कार्यमा संलग्नहरुलाई हदैसम्मको कानुनी कारबाही गरिदिनुहुन हार्दिक अनुरोध छ–भनिएको छ ।
साविक टंकेश्वर गाविस ०९ ख को कित्ता ४९, ५०, ६२, ६३ र ६५ को जग्गा राष्ट्रिय सङ्ग्रहालय छाउनी अन्तर्गत महेन्द्र स्मृति सङ्ग्रहालयको नाममा जग्गा धनी पुर्जा रहेको छ । हाल संग्रहालयले ९ दिनअघि अर्थात् पुस ७ आफ्नो नाममा जग्गा धनी पुर्जा बनाइसकेको छ । आफ्नो नाममा पुर्जा रहेको जग्गा र त्यसमा बनेको टहरामा जानकारी नदिई डोजर चलाएपछि संग्रहालय कानुनी उपचारमा जाने तयारी गरेको छ ।
उच्चस्रोतका अनुसार कामपा सुसासन समितिको ०८२ असार ६ गतेको बैठकले विद्यालयको उपयोगको लागि सरकारी दर्ता बाकी रहेको जग्गामा डोजर चलाउने निर्णय गरेको थियो । समितिका सभापति एवं कामपा २६ का अध्यक्ष ख्यामराज तिवारीको अध्यक्षतामा बैठक बसेको थियो । संग्रहालयसंगै रहेको पञ्चकन्या माबिले उक्त जग्गा भोगचलन गर्न आग्रह गर्दै पत्र वडा नं १३ले सिफारिस सहितको पत्र पठाएपछि सोही आधारमा समितिको बैठकले भत्काउने निर्णय गरेको थियो ।
कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले समितिको निर्णयको आधारमा उक्त जग्गामा डोजर चलाएको जानकारी दिए । भने –महानगरको निर्णय कार्यान्व्यन गरेका हौ, मनपरी भत्काएका होइनौ ।
संग्रहालयले प्रशासनले हाल कित्तानं ७७० को जग्गाको संधियारले राष्ट्रिय सङ्ग्रहालय छाउनीलाई प्रतिवादी बनाएको जग्गा खिचलो सम्बन्धी मुद्दामा सम्मानित अदालतबाट वादीको पक्षमा फैसला गरी १ आना जति जग्गा कटाई दिन प्रतिवादीको नाममा आदेश भई सो फैसलाको चलन समेत भइसकेको अवस्थामा उक्त जग्गा राष्ट्रिय सङ्ग्रहालयको स्वामित्वमा रहेको विषय सम्मानित अदालतबाट समेत परीक्षण भइसकेको जनाएको छ । संग्रहालय प्रमुख नकर्मीले अदालतको आदेशको बर्खिलाफमा कामपाले डोजर चलाएको आरोप लगाए । भने –कामपाले न हामीलाई पत्र दिएको छ, नत औपचारिक जानकारी नै । तीनदिनअघि माइकिङ गरेको भनेर एकाएक डोजर चलाएर आतङ्कित बनाएको छ ।
यसअघि काठमाडौँ महानगरको प्रहरीले राष्ट्रिय सङ्ग्रहालयसँग कुनै औपचारिक समन्वय नगरी सङ्ग्रहालयका महिला कर्मचारीहरूलाई आतङ्कित पार्ने कार्य गरेको र सो को अनौपचारिक सूचना प्राप्त भएपछि महानगरलाई पटक पटक पत्राचार गरी सङ्ग्रहालयको स्वामित्वमा रहेको, हकभोगको जमिन र त्यहाँ रहेको आवासीय संरचनाहरू नभत्काउन र कर्मचारीहरूलाई आवास खाली गर्न भनी धरपकड नगर्न आग्रह गरी पत्राचार गरेको संग्रहालयले जनाएको छ ।
कामपाले मौखिक जानकारी गराएपछि पुरातत्त्व विभाग प्रमुख शौभाग्य प्रधनाङगले कामपाका उपमेयर सुनिता डंगोल , प्रुमुख प्रशासकीय अधिकृत सरोज गुँरागाई र मेयरका स्वकीय सचिव भुपदेव शाह लगायतलाई नभत्काउन आग्रह गरेकी थिइन् । ‘करिब एकमहिना अघि भएको कुराकानीमा नभत्काउने जनाएको थियो, आज एकाएक डोजर लगाएर तहसनहस बनाएकोछ’–विभागका महानिर्देशक प्रधानाङगले भनिन् । यसअघि संग्रहालयले १२ गते कामपालाई पत्राचार गरी नभत्काउन आग्रह गरेको थियो ।
कार्यालयले पटक पटक पत्राचार गर्दा समेत त्यसलाई बेवास्ता गरी औपचारिक सम्पर्कमा नआई बलजफ्ती वडाध्यक्ष र महानगर प्रहरीको डिएसपी शिव पौडेल समेतको संलग्नतामा कार्यालयको कर्मचारीले प्रयोग गरिरहेको आवासीय संरचनाहरूमा क्षति पु¥उनुको साथै कर्मचारीहरूलाई मानसिक रूपमा आतङ्कित पारिएको छ–संग्रहालय प्रशासनले जारी गरेको पत्रमा उल्लेख गरेको छ ।














प्रतिक्रिया