एजेन्सी।
माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आफ्ना नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्धको प्रतिकारस्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।
दुवै पश्चिम अफ्रिकी मुलुकका विदेशमन्त्रीहरूले छुट्टाछुट्टै आधिकारिक विज्ञप्ति जारी गर्दै यो निर्णय सार्वजनिक गरेका हुन्। यस निर्णयलाई पश्चिम अफ्रिकामा सैन्य शासनमा रहेका देशहरू र अमेरिकी प्रशासनबीच बढ्दो चिसोपनको नयाँ कडीका रूपमा हेरिएको छ।
गत डिसेम्बर १६ मा राष्ट्रपति ट्रम्पले माली, बुर्किना फासो, नाइजरसहित २० भन्दा बढी देशमाथि लागू रहेको यात्रा प्रतिबन्धलाई थप विस्तार गरेका थिए। अमेरिकी प्रशासनले ती देशहरूमा सक्रिय सशस्त्र समूहहरूको गतिविधि र सुरक्षा जोखिमलाई आधार मानेर प्रतिबन्ध विस्तार गरिएको जनाएको थियो।
मालीको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पारस्परिकताको सिद्धान्तअनुसार तत्काल प्रभावबाट अमेरिकी नागरिकहरूमाथि पनि मालीका नागरिकहरूलाई लगाइएका समान सर्त र आवश्यकताहरू लागू गरिनेछ।’
त्यसैगरी, बुर्किना फासोका विदेशमन्त्री कारामोको जीन–मेरी ट्राओरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पनि अमेरिकी निर्णयप्रति असहमति जनाउँदै अमेरिकी नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने स्पष्ट उल्लेख गरिएको छ।
ह्वाइट हाउसले भने माली र बुर्किना फासोमा सशस्त्र समूहद्वारा भइरहेका निरन्तर आक्रमण, राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीलाई यात्रा प्रतिबन्धको प्रमुख कारणको रूपमा उल्लेख गर्दै आएको छ। यी दुवै देशमा इस्लामिक चरमपन्थी समूहहरूको गतिविधि तीव्र हुँदै गएको र त्यसलाई नियन्त्रण गर्न कठिन भइरहेको अमेरिकी मूल्यांकन छ।
यस क्षेत्रको दीर्घकालीन असुरक्षाका कारण नागरिक सरकारहरू अपदस्थ भई सैन्य जुन्ताहरू सत्तामा पुगेका थिए। जुन्ताहरूले सशस्त्र समूहहरूविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाए पनि सुरक्षा अवस्था अझै जटिल नै रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।
माली, बुर्किना फासो र नाइजरले पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय (ECOWAS)बाट अलग भएर नयाँ क्षेत्रीय गठबन्धन निर्माण गरेपछि अमेरिका र पश्चिमी मुलुकहरूसँगको सम्बन्ध थप तनावग्रस्त बन्दै गएको छ।











प्रतिक्रिया