काठमाडौँ ।
वरिष्ठ मुटरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाको नेतृत्वमा स्थापना गरिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) अन्तर्गतको कियोच–काठमाडौं बाल अस्पतालले औपचारिक रूपमा ओपीडी सेवा सुरु गरेको छ । बूढानीलकण्ठ नगरपालिका–७, हेपालीहाइटमा निर्माण गरिएको अस्पतालमा आइतबारदेखि ओपीडी सेवा सञ्चालनमा आएको हो ।
प्रा.डा. कोइरालाका अनुसार अस्पताल सञ्चालनको प्रारम्भिक चरणमा ओपीडी सेवालाई प्राथमिकता दिइएको छ भने दुईदेखि तीन हप्ताभित्र इन्डोर सेवा पनि सुरु गरिने तयारी अन्तिम चरणमा पुगेको छ । ‘बाल स्वास्थ्य सेवामा देखिएको चापलाई मध्यनजर गर्दै काठमाडौंमै विशेषीकृत बाल अस्पताल सञ्चालनमा ल्याएका हौँ’, उहाँले भन्नुभयो– ‘सुरुमा ५० देखि ६० श्यया सञ्चालनमा ल्याइनेछ, निकट भविष्यमा १ सय श्ययाको सेवा विस्तार हुनेछ ।’
ओपीडी सेवा सुरु गर्नुअघि अस्पतालले आइतबार र सोमबार दुई दिने बहु–विशिष्टीकृत बाल स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा आएका सबै बालबालिकाको परीक्षण, परामर्श तथा उपचार निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।
शिविरमा बालरोग, नवजात शिशु, पोषण, श्वासप्रश्वास, बाल शल्यक्रिया तथा अन्य विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो ।
प्रा.डा. कोइरालाले नेपालमा अझै पनि गुणस्तरीय र पहुँचयोग्य बाल स्वास्थ्य सेवाको अभाव रहेको उल्लेख गर्दै कियोचको लक्ष्य सेवा, अनुसन्धान र शिक्षालाई एकैसाथ अघि बढाउनु रहेको बताउनुभयो ।
अस्पतालले चरणबद्ध रूपमा सबै आधुनिक बाल स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । कियोचअन्तर्गत यसअघि नै झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ, जहाँ पूर्वी नेपालका हजारौँ बालबालिकाले सेवा पाइरहेका छन् । दमकको अनुभवलाई आधार मानेर काठमाडौं अस्पताललाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाइएको अस्पताल स्रोतले जनाएको छ ।
प्रा.डा. कोइरालाको नेतृत्वमा रहेको कियोच समूहले सातवटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने दीर्घकालीन योजनासहित काम अघि बढाइरहेको छ । प्रदेशस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराएर बालबालिकालाई उपचारका लागि काठमाडौं आउनुपर्ने बाध्यता कम गर्ने उद्देश्य समूहको रहेको छ ।











प्रतिक्रिया