–देउवा–ओली–प्रचण्डको अनौपचारिक संवाद
–भूराजनीतिक दबाब र स्थिरताको बहस
–नयाँ र पुराना दलबीचको भिडन्त कस्तो होला ?
काठमाडौं ।
जेन–जी आन्दोलनपछि नेपाली राजनीति तीव्र रूपमा पुनः ध्रुवीकरणतर्फ उन्मुख भएको छ । सडकदेखि सामाजिक सञ्जालसम्म देखिएको युवापुस्ताको असन्तोषले पुराना दललाई झस्काइदिएको छ भने के के न गर्छौं भन्दै उदाएका नयाँ दलहरू आक्रामक राजनीतिक भाष्यमा उत्रिएका छन् ।
तर, समानुपातिक निर्वाचनका लागि दलहरूले उम्मेदवार सूची बुझाएसँगै यो प्रतिस्पर्धा देश कसरी बनाउने भन्ने बहसभन्दा पनि आफू राम्रो, अरू सबै खराब भन्ने आरोप–प्रत्यारोपमा सीमित हुँदै गएको देखिन्छ ।नयाँ दलहरूले आफूलाई परिवर्तनको एकमात्र विकल्पका रूपमा प्रस्तुत गरिरहँदा पुराना दलहरू भने अस्तित्व र शक्ति जोगाउने रणनीतिमा केन्द्रित देखिएका छन् । यही कारण जेन–जी आन्दोलनपछि देखिएको उत्साह अब राजनीतिक ध्रुवीकरण र सम्भावित चुनावी गठबन्धनतर्फ मोडिँदै गएको विश्लेषकहरू बताउँछन् ।
जेन–जी आन्दोलनले भ्रष्टाचार, बेरोजगारी, राजनीतिक दलको असफलता र पुरानो नेतृत्वप्रति प्रश्न उठाएको थियो । यही असन्तोषलाई राजनीतिक पुँजी बनाउँदै केही नयाँ दल र स्वतन्त्र धारका नेताहरू तीव्र रूपमा सक्रिय भएका छन् । उनीहरूले पुराना दललाई ‘असफल, भ्रष्ट र परिवर्तनविरोधी’ को संज्ञा दिँदै आफूलाई मात्र विकल्पका रूपमा उभ्याउन थालेका छन् ।
तर, निर्वाचन नजिकिँदै जाँदा यी दलहरूबीच समेत एक–अर्कालाई दोष दिने प्रतिस्पर्धा बढेको छ । एउटै मतदाता समूहलाई लक्षित गर्दै ‘हामीमात्र सही’ भन्ने भाष्य हाबी भएपछि राजनीतिक बहस नीति र कार्यक्रमभन्दा व्यक्तिकेन्द्रित बन्दै गएको छ ।
पुराना दलको पुनः एकता संकेत
यसैबीच, नयाँ दलको बढ्दो प्रभाव देखेर पुराना दलहरू भने एकअर्कासँग नजिकिन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवाइमा विभिन्न एकता र सहकार्यका प्रयास अघि बढेपछि पुराना दलहरू पनि चुनावी तालमेलबारे गम्भीर छलफलमा जुटेको संकेत देखिएको छ ।
मंगलवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फरक–फरक कार्यक्रममा दिएको अभिव्यक्तिले यही संकेत गरेको छ । ओलीले अब बन्ने सरकार नेपाली कांग्रेस वा एमालेकै हुनेछ भन्ने दाबी गर्नुभएको छ भने उता प्रचण्डले देशै कब्जा गरेजस्तो गरी केही दल उफ्रिएका छन्, यसको जवाफ समयले छिट्टै दिनेछ भन्दै ठूला दलहरू निर्वाचनमा जान संवादमा रहेको स्पष्ट पार्नुभएको छ ।
यी अभिव्यक्तिलाई विश्लेषकहरूले नयाँ दलप्रति सन्देश र पुराना दलबीच सम्भावित सहकार्यको संकेतका रूपमा लिएका छन् । राजनीतिक वृत्तमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ओली र प्रचण्डबीच अनौपचारिक संवाद निरन्तर भइरहेको चर्चा चलिरहेको छ । सत्ता राजनीति, भूराजनीतिक दबाब र निर्वाचन गणितले यी तीन नेतालाई पुनः एउटै टेबलमा ल्याएको विश्लेषण गर्न थालिएको छ ।
वरिष्ठ राजनीतिक विश्लेषक लोकराज बराल भन्नुहुन्छ– ‘जेन–जी आन्दोलनले पुराना दललाई कमजोर बनाएको जस्तो देखिए पनि चुनावी यथार्थ फरक छ । अन्ततः सत्ता संरचना, संगठन र स्रोत भएका दलहरू एकअर्कासँग सहकार्य गरेर अघि बढ्ने सम्भावना बढी हुन्छ ।’ उहाँका अनुसार नयाँ दलको भाष्यले पुराना दललाई रक्षात्मक बनाएको छ, तर यसले उनीहरूलाई अझ संगठित हुन प्रेरित गरेको छ ।
नेपाल अहिले तीव्र भूराजनीतिक दबाबको चपेटामा रहेको छ । भारत–चीन प्रतिस्पर्धा, अमेरिकी चासो, क्षेत्रीय अस्थिरता र आर्थिक संकटले राजनीतिक स्थिरताको बहसलाई पुनः सतहमा ल्याएको छ । यही सन्दर्भमा ठूला दलहरूले आफूलाई स्थायित्वको ग्यारेन्टीका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् ।
राजनीतिशास्त्री डा. कृष्ण खनाल भन्नुहुन्छ– ‘नयाँ दलले भावनात्मक अपिल गरे पनि भूराजनीतिक सन्तुलन र राज्य सञ्चालनको अनुभवको प्रश्न उठ्छ । यही तर्कलाई आधार बनाएर पुराना दलहरू चुनावी तालमेलतर्फ जान सक्छन् ।’ उहाँका अनुसार स्थिरताको नाममा गरिने गठबन्धनले फेरि जनतामा निराशा बढ्ने खतरा पनि उत्तिकै छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार आगामी निर्वाचन नयाँ र पुरानाबीचको मात्र नभई भावनात्मक राजनीति, संस्थागत राजनीतिबीचको प्रतिस्पर्धा हुनेछ । नयाँ दलहरूले युवाको असन्तोष बोकेर मैदानमा उत्रिँदा पुराना दलहरूले संगठन, गठबन्धन र अनुभवलाई हतियार बनाउनेछन् ।
वरिष्ठ राजनीतिक विश्लेषक डा. रामहरि लामिछाने अहिले देखिएको आरोप–प्रत्यारोपको राजनीति चुनाव नजिकिँदै जाँदा झन् तीव्र हुन्छ । तर, अन्ततः मतदाताले कसलाई शासनको जिम्मा दिने भन्ने प्रश्न निर्णायक हुने बताउनुहुन्छ । उहाँका अनुसार जेन–जी आन्दोलनले ल्याएको चेतना चुनावपछि पनि दबिने हो कि संस्थागत हुने हो, त्यो दलहरूको व्यवहारमा निर्भर रहने भएको छ ।
जेन–जी आन्दोलनपछि सुरु भएको राजनीतिक हलचल अब नयाँ–पुराना दलबीचको खुला प्रतिस्पर्धामा रूपान्तरित हुँदै छ । एकातिर नयाँ दलहरू परिवर्तनको झण्डा बोकेर आक्रामक छन् भने अर्कोतिर पुराना दलहरू शक्ति जोगाउन चुनावी तालमेलको तयारीमा देखिएका छन् । यस्तो अवस्थामा आगामी निर्वाचन केवल सत्ता परिवर्तनको मात्र होइन, नेपाली लोकतन्त्र कुन दिशामा जाने भन्ने निर्णायक मोड बन्ने संकेत देखिएको छ ।











प्रतिक्रिया