‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल


काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आगामी पुस २३ गते पोखरामा आयोजना हुन लागेको ‘२२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को आधिकारिक होटल पार्टनरका रूपमा पोखराको म्याजेस्टीक लेक फ्रन्ट होटल एण्ड सुइट्स छनोट भएको छ। राजधानी बाहिर पहिलोपटक आयोजना हुन लागेको यस प्रतिष्ठित अवार्डका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र म्याजेस्टीक लेक फ्रन्टका अध्यक्ष सुनिल बहादुर भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अवार्डको मुख्य सचिवालय यसै होटलमा रहनेछ भने बाहिरबाट आउने खेलाडी, पदाधिकारी र अतिथिहरूको आवासीय व्यवस्थापन समेत यहीँ गरिनेछ। यस सहकार्यप्रति खुसी व्यक्त गर्दै अध्यक्ष भट्टराईले खेलकुदको कुम्भमेलालाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व र गर्वको विषय भएको बताएका छन्।

नेपाली खेल पत्रकारहरूको साझा संस्था एनएसजेएफले हरेक वर्ष खेलाडी र प्रशिक्षकहरूको वर्षभरिको प्रदर्शनलाई मूल्यांकन गर्दै अवार्ड प्रदान गर्दै आएको छ। २०८१ सालभरि उत्कृष्ट नतिजा ल्याउने प्रतिभाहरूलाई सम्मान गरिने यस संस्करणमा विगतमा जस्तै १० विधामा पुरस्कार वितरण गरिनेछ। यसपटक वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र ‘पिपल्स च्वाइस’ विधाका पाँच विजेतालाई पुरस्कार स्वरूप पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

अवार्डको तयारी तीव्र पारिएसँगै ‘पिपल्स च्वाइस’ विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ, जसमा विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) बीच कडा प्रतिस्पर्धा देखिएको छ। गोल्छा ग्रुपको मुख्य प्रायोजन र यती एयरलाइन्सको ‘पावर्ड बाई’ साथ रहेको यस कार्यक्रमलाई पोखरा महानगरपालिकाले प्रवर्द्धन गरिरहेको छ भने डिजिटल भोटिङका लागि खल्ती र पोसाकका लागि केल्मी नेपालले सहकार्य गरेका छन्। राजधानी बाहिरको यो ऐतिहासिक संस्करणले नेपाली खेलकुद र पर्यटन दुवै क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।