काठमाडौं ।
चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा ऐतिहासिक पदक प्राप्त गर्न सफल नेपाली खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले भव्य बधाई तथा सम्मान व्यक्त गरेका छन् ।
मंगलबार लैनचौरस्थित टेबलटेनिस हलमा आयोजित एक विशेष कार्यक्रमका बीच मन्त्री गुप्ताले स्वर्ण पदक विजेता कृष्ण खड्का र कांस्य पदक विजेता रञ्जन कँडेलको प्रशंसा गर्दै पदक हस्तान्तरण तथा बधाई दिएका हुन् । अन्तर्राष्ट्रिय र एसियाली स्तरको यो कठिन प्रतिस्पर्धामा पदक जितेर राष्ट्रको नाम विश्वसामु उँचो पारेकोमा खेलाडीहरूको मेहेनतलाई मन्त्री गुप्ताले उच्च सम्मान प्रकट गरे । सो अवसरमा उनले आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझै उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा दिँदै खेलाडीहरूलाई सफलताको शुभकामना प्रदान गरेका थिए। मन्त्री गुप्ताले खेलकुदको माध्यमबाट नेपालको गौरव बढाउन सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस च्याम्पियनसिपमा नेपालले दुईवटा महत्वपूर्ण पदक आफ्नो पोल्टामा पारेको थियो, जसमा कृष्ण खड्काले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक र रञ्जन कँडेलले सोही स्पर्धामा कांस्य पदक जितेका थिए। यो सफलताले नेपालमा साहसिक जलयात्रा खेलको प्रचुर सम्भावना र खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरको क्षमतालाई पुनः पुष्टि गरेको छ ।











प्रतिक्रिया