लमजुङ।
लमजुङका गुरुङ समुदायले तमु नयाँ वर्षको रुपमा तामझामका साथ विविध कार्यक्रम गरी ल्होसार पर्व मनाएका छन् । बर्गचक्र फेरिएसँगै गुरुङ समुदायले नयाँ वर्षको रुपमा धूमधामसँग तमु ल्होसार पर्व मनाउने गर्दछन् । गुरुङहरुले सफ्रिल्हो अर्थात सर्प वर्गलाई बिदाइ गरी त ल्हो अर्थात घोडा वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् ।
ल्होसारको रौनक छाएको लमजुङका गुरुङ समुदायले शुभकामना आदाप्रदान, चियापान, सास्कृतिक कार्यक्रमका साथ ल्होसारको स्वागत तथा स्योकै लगायतका कार्यक्रम गर्दे आएको छ । ल्होसारको मुख्य दिन मंगलबार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाईले ल्होसारको अवसरमा शुभकामना आदानप्रदानसंगै दिवा भोज तथा विविध सांस्कृतिक कार्यक्रम गरेको हो ।
इकाई अध्यक्ष क्याप्टेन मिलवहादुर गुरुङको अध्यक्षता एवं बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले तमु ल्होसार गुरुङ समुदायको मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक धरोहर भएको बताए । उनले भाषा, संस्कृति र पहिचान जोगाउन यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्थानीय सरकारले संस्कृति संरक्षणका गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, गीत तथा परम्परागत प्रस्तुतिहरू देखाइएको थियो । सहभागीहरुले एकआपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्ष सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवाराज अधिकारी, मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, क्व्होलासोथार गाउँपालिका अधयक्ष सुर्यप्रसाद गुरुङ, बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङ, मर्स्याङदी गाउँपालिका उपाध्यक्ष जुनमाया थापा, बेसीशहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पवित्र थापा राना लगायतको उपस्थित रहेको थियो
कार्यक्रममा तमु ह्युला छोँज धि बेसीशहर इकाईमा गत वर्ष प्रवेश गरेका सदस्यलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
ल्होसारको अवसरमा ईकाइले पाँच वटै टोलको आमा बाबा समुहको भेषभुषा प्रतियोगिता समेत आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा शन्ति टोलका बाबा आमा प्रथम भएका् छ भने अन्य चार वटा समुह सान्तवन भएको छ ।
कार्यक्रममा इकाईका उपाध्यक्ष कुमवहादुर गुरुङले स्वगात मन्तव्य राखेका थिए भने कार्यक्रमको सहकिजरण सचिव सुवेदार कृष्ण वहादुर घलेले गरेका थिए। .
कार्यक्रमका अवसरमा बेसीशहर इकाई अन्र्तगतका पाँच वटा टोल समूह, तमु प्लु संघ र तमु विद्यार्थी छोँज धिले जातिय भेषभुषासहित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पाँच वटा टोलको फरकफरक परिकारसहित स्योकै कार्यक्रम समेत भएको थियो ।
आज सदरमुकाम बेसीशहरसहित उदिपुर, चिसापानी भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ, सिउरुङ, ढंगै, राईनास, पाचोक, इलमपोखरी लगायतका गाउँहरुमा विविध कार्यक्रम गरी धूमधामका साथ ल्होसार पर्व मनाइएको छ ।











प्रतिक्रिया