नागरिकताको ढोका खोलेर बिदा भइन् सिडिओ नेपाल

राहसल अनाथालयका युवालाई दिए भविष्यको पहिचान

3.48k
Shares

इलाम। 

इलाम नगरपालिका–९ गोलाखर्कस्थित राहसल बाल अनाथालयमा आश्रित चारजना युवालाई आफूहरुले नेपाली नागरिकता पाउने आशै थिएन । तर उनीहरूले राज्यको पहिचान, अधिकार र भविष्य एकसाथ पाएका छन् । लामो समयदेखि प्रतीक्षामा रहेका ती युवाहरूले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र हात पार्दा उनीहरूको जीवनमा नयाँ अध्याय सुरु भएको छ । 

२०६६ सालमा स्थापना भएको राहसल बाल अनाथालयको इतिहासमा बालबालिकाले नागरिकता पाएको यो पहिलो घटना हो । यो सम्भव भयो, जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपालको सक्रियता, संवेदनशीलता र कानुनी पहलका कारण । लगाानी बोर्डमा सरुवा भएकी  सिडिओ नेपालले बिदाई भएर जाने दिन जिल्ला प्रशासन कार्यालय परिसरमै विशेष रूपमा ती युवाहरूलाई नागरिकता प्रमाणपत्र हस्तान्तरण गरिन्  । 

प्रशासनिक व्यस्तता र जिम्मेवारीबीच पनि उनले नागरिकता जस्तो आधारभूत अधिकार सुनिश्चित गर्न देखाएको तत्परता धेरैका लागि उदाहरणीय बन्यो । नागरिकता पाउने उमेर पुगिसक्दा पनि परिचयविहीन भएर बस्न बाध्य ती युवाहरू उच्च शिक्षा, रोजगारी, बैंकिङ सेवा र सामान्य नागरिक सुविधाबाट वञ्चित थिए।

नागरिकता हात परेपछि उनीहरूको आँखामा देखिएको खुसी र भावुकता त्यो अभावको गहिराइ स्वयं बोल्थ्यो । 

नागरिकता कुनै उपहार होइन, यो संविधानले दिएको मौलिक हक हो तत्कालिन सिडिओ नेपालले भनिन —‘राज्यको मूल धारबाट कोही पनि छुट्न हुँदैन, आज यी युवाहरूको भविष्यका ढोका खुलेका छन् । राहसल बाल अनाथालयकी अध्यक्ष माया भट्टराईका लागि यो क्षण वर्षौँको संघर्षको परिणाम थियो । नागरिकता दिलाउन कानुनी र प्रशासनिक प्रक्रियामा लामो समय संघर्ष गर्नु परेको थियो । ‘नागरिकता नहुँदा उनीहरूले सामान्य सिमकार्ड लिनसमेत समस्या झेल्नुपथ्र्यो अध्यक्ष भट्टराईले भनिन् —‘उनीहरू राज्यले चिन्ने नागरिक बनेका छन् । नागरिकता पाएका युवाहरूले अब आफूहरूले ‘नेपाली’ भएको वास्तविक अनुभूति भएको बताएका छन् । अब उनीहरू उच्च शिक्षा, सरकारी तथा निजी रोजगारी, र विदेश यात्रा जस्ता अवसरमा ढुक्कसँग अघि बढ्न सक्नेछन् । 

यसैबीच, इलाममा छोटो समयमै गहिरो छाप छोड्न सफल सिडिओ सुनिता नेपालले औपचारिक रूपमा आफ्नो जिम्मेवारीबाट बिदा लिएकी छन्  । उनी  अब लगानी बोर्डमा नयाँ जिम्मेवारी सम्हाल्ने भएकी हुन्  । बिदाइ हुँदै छोटो समय भए पनि इलामले धेरै कुरा सिकाएको उल्लेख गरिन्  । इलामबासीले उनको कार्यशैली, निर्णय क्षमता र नागरिकमैत्री भूमिकाको खुलेर प्रशंसा गरेका छन् । कानुनी प्रक्रियामा अड्किएका विषय समाधानदेखि मानवीय संवेदनशीलता देखाउने निर्णयसम्म, सिडिओ नेपालको भूमिकालाई इलाममा सकारात्मक परिवर्तनको प्रतीकका रूपमा हेरिएको छ । राहसल अनाथालयका युवाहरूलाई नागरिकताको अधिकार सुनिश्चित गराएर बिदा हुनु सिडिओ नेपालका लागि केवल प्रशासनिक उपलब्धि मात्र होइन, इलामबासीको मनमा अमिट छाप छोड्ने कार्य बनेको छ ।