आहा ! निस्कोट बराहताल:  जहाँ हिमालको प्रतिबिम्ब देखिन्छ (फोटो फिचर)

658
Shares

म्याग्दी।

 घना जङ्गलको बिच भाग । केही मानव वस्ती रहेको ठाउँ र लोभलाग्दो दृश्य । निकै आकर्षक, सुन्दर अनि मनमोहक देखिने निस्कोटको बराहताल पर्यटकको पर्खाइमा छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको आँख्खै अगाडि सेताम्य हिमालहरु देखिन्छन् । हेमन्त ऋतुको समय चिसो निकै बढेको छ भने हिमाल खुलेको छ ।

 भिरालो जमिनमा पूर्वतर्फ मोहडा भएको निस्कोट गाउँको सिरानमा बराहताल पर्दछ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ नम्बर वडामा पर्ने निस्कोट गाउँ र बराहताल प्राकृतिक हिसाबले सुन्दर, आकर्षक र मनमोहक छन् । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालहरुको लर्कन देख्न सकिने निस्कोट बराहतालको शब्दमा वर्णन गरिसाध्य छैन । 

सफा भएर मौसम खुलेको समयमा देखिने हिमालको रोचक दृश्यसँगै बराहतालमा हिमालसँगै पौडी खेल्न मिल्ने यसको थप आकर्षण र विशेषता हो । झण्डै २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्धन गर्नुपर्ने आवश्यकता देखिन्छ । समुन्द्री सतहदेखि २३ सय मिटरको उचाइमा रहेको बराहताल र तालको आसपासबाट मनोरम दृष्यावलोकन गर्न सकिन्छ । बराहताल क्षेत्रबाट धौलागिरि हिमालको साथै गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथीलगायत हिमालहरु प्रत्यक्ष देखिन्छन् ।

बराहतालमा पर्ने वन क्षेत्र र हिमालहरु देखिने प्रतिबिम्ब (छाँया) त्यहाँ पुग्ने जो कोही वा पर्यटकहरुका लागि समेत आकर्षक अनि मनमोहक लाग्छ । हिमालको वरिपरी लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेहरुलाई रोमाञ्चित बनाइदिन्छ । निस्कोट गाउँमा जानेहरु एकैछिन भए पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमीमा पारेर फोटो र सेल्फी खिचेर रमाउन तालमा पुग्ने गर्दछन् । बराहतालको छेउछाउ पुगेर ताल र वरिपरीको दृश्यलाई धित मरुन्जेल हेर्न पाउँदा उकालो चढ्दा लागेको थकान उतिखेरै बिर्सिन्छ । 

निस्कोट गाउँमा कार्यक्रम लिएर तथा अन्य कामले जानेहरु एकैछिन भए पनि बराहताल पुगेर रमाउने गरेको स्थानीय रामकुमारी पुनले जानकारी दिनुभयो । निस्कोट गाउँबाट आधा घण्टाको पैदल दूरीमा पर्ने बराहताल स्थानीयवासीका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । जङ्गलको बीच भागमा ताल रहेपनि त्यसमा कुनै पातपतिङ्गरहरु हुँदैनन् । पातपतिङ्गर परेमा चराले सफा गर्छन् । तालमा बिहान सबैरै २ वटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीय किम्बदन्ती छ । 

छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिका जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको बराहतालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयवासी पुनले बताउनुभयो । ताल नजिकै एउटा तामाको घैंटो (चिन्हो) समेत रहेको छ । स्थानीयका अनुसार उक्त घैंटो राणाशासनकालमा लुकाइएको हुँदा पछि ढुङ्गा फुटाउँदा भेटिएकाले संरक्षण गरेर राखिएको हो । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरुको आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ। 

निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख पुरानो भाका यानीमाया, सुनीमायालगायत गीतहरु गुन्जिन्छन् । बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लोपटक आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटकीय बराहतालको पर्यटन प्रवर्धन गर्न आवश्यक जोड दिइएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले बताउनुभयो ।