नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा निर्वाचित


काठमाडौँ।

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी डा. गुरुशरण साहलाई ८८४ मतले पराजित गर्दै विजय हासिल गरेका हुन्।

निर्वाचन समितिका अनुसार डा. शेर्पाले कुल ५,२३४ मत प्राप्त गरे भने डा. साहको पक्षमा ४,३५० मत परेको थियो। उपाध्यक्ष पदका अर्का उम्मेदवार डा. अजयसिंह थापाले १,८४४ मत प्राप्त गरेका छन्।

यसैगरी, काउन्सिलका आठ सदस्य पदका लागि भएको निर्वाचनमा ३३ जना उम्मेदवारमध्ये आठ जना विजयी भएका छन्। सबैभन्दा बढी मत ल्याउँदै डा. छविलाल पन्थी ४,८५७ मतसहित विजयी भए। दोस्रो स्थानमा डा. सारिका गोइत ४,४७९ मतका साथ निर्वाचित भइन्।

निर्वाचित हुने अन्य सदस्यहरूमा डा. दीपेन्द्र पाण्डे (४,०१५), डा. युविनकुमार यादव (३,६२८), डा. अस्मिता पोखरेल (३,४०४), डा. सम्राट पराजुली (३,२८२), डा. निना राई (३,१११) र डा. रविन बस्नेत (३,०७२) रहेका छन्।

निर्वाचनका लागि काउन्सिलले काठमाडौँ उपत्यकासहित देशभर २१ वटा मतदान केन्द्र तोकेको थियो। उपत्यका बाहिरका १८ केन्द्रमा ४ देखि ६ पुससम्म र उपत्यकाभित्र ११ र १२ पुसमा मतदान सम्पन्न भएको थियो।

प्रमुख निर्वाचन अधिकृत प्रा.डा. रविन्द्रमान श्रेष्ठले निर्वाचन तथा मतगणना प्रक्रिया शान्तिपूर्ण र सहज रूपमा सम्पन्न भएको जनाउँदै सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।