ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते


भक्तपुर।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिले जनाएको छ।

ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई प्रहरीले नियन्त्रणमा लिएको छ।