काठमाडौं ।
टिप टप हेल्प नेपाल स्पोर्टस क्लब जारी नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वार्टरफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार भएको खेलमा मणीमकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएर हेल्प नेपाल अन्तिम आठमा पुगेको हो ।
समूह ‘ए’ मा रहेको हेल्प नेपालले यसअघि नेपाल एपीएफ क्लबलाई पनि ३–० को सोझो सेटमै हराएको थियो । योसँगैं हेल्प नेपाल समूह विजेतासमेत भएको छ । यस समूहबाट दोस्रो टोली अन्तिम आठमा पुग्न एपिएफ र मणीमुकुन्दबीचको खेलले टुंगो लगाउनेछ ।
यस्तै, समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब पनि अन्तिम आठमा पुगेको छ । पुलिसले आफ्नो दोस्रो खेलमा खिल्जी युवा क्लबलाई सीधा ३–० सेटमा हराएको हो । योसँगैं पुलिस शीर्ष टोली बनेको छ । यसअघि विभागिय टोलीले ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएको थियो ।
महिलातर्फका खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेका छन् । समूह बी मा रहेको एपीएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० ले हराएको हो । पहिलो खेलमा मधेश प्रदेश खेलकुद परिषद्लाई पनि ३–० ले हराएको एपीएफले सेमिफाइनलको सम्भावना बढाएको छ । सुदूरको भने यो लगातार दोस्रो हार थियो ।
यस्तै, आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । आर्मीले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई हराएको थियो । आर्मीको पनि अन्तिम चारमा पुग्ने सम्भावना बनेको छ । चुलीको यो लगातार दोस्रो हार थियो ।











प्रतिक्रिया