रुखबाटै बिक्री हुन्छन् कृस्तीका सुन्तला

752
Shares

पोखरा ।

कृस्तीका भुवानीप्रसाद सुवेदी यति बेला सुन्तला टिप्नमा व्यस्त हुनुहुन्छ । नवराज सुवेदीको बारीमा उहाँ सुन्तला टिपिरहनुभएको छ । सुन्तलाको मौसम शुरु भएपछि भुवानी निकै व्यस्त हुँदै आउनुभएको छ । नवराजले भने कृस्तीका सुन्तला काठमाडौंको कालिमाटीमा पु¥याउनुहुन्छ । आफ्नो बारीसहित गाउँका सुन्तला सबै ठेक्कामा लिनुभएको नवराजले १६ जना सुन्तला टिप्नका लागि खेताला राख्नुभएको छ ।

यसपटक एक करोड आम्दानी गर्ने उहाँको लक्ष्य रहेको छ । तर, सुन्तला सानो फलेकाले चिन्ता उहाँमा छ । उता भुवानीप्रसाद पनि अहिलेको सुन्तला देखेर निराश हुनुहुन्छ । हरेक वर्ष घरमै पनि सुन्तला बेचेर एक–डेढ लाख रुपियाँ आम्दानी गर्ने भुवानीले दैनिक ज्यालामा समेत काम गर्नुहुन्छ । ६–७ वर्षअघिसम्म १५ क्यारेटसम्म एउटै व्यक्तिले सुन्तला टिप्ने कृस्तीमा अहिले १० क्यारेट टिप्नसमेत हम्मे–हम्मे भएको छ । कारण हो सुन्तलामा लागेको रोग । पहिला चारवटा ग्रेडको सुन्तला पाइने कृस्तीमा अहिले तीनवटा ग्रेडका मात्रै सुन्तला फल्ने गरेका छन् । सुन्तलाका बोटहरु धमाधम मर्न थालेका छन् भने फलसमेत फल्न छाडेका छन् ।

‘पहिला त्यति बेला हरेक व्यक्तिले १५ क्यारेटसम्म सुन्तला टिप्ने गरेका थियौं तर अहिले १० क्यारेट पनि टिप्न सकिँदैन । पहिलाको सुन्तला गुणस्तरीय थियो, अहिले त्यो पाइँदैन । ठूला सुन्तला असाध्यै मीठो हुन्थ्यो जुन अहिले पाउन छाड्यो । सुन्तला पनि साना फल्न थालेका छन् । बोटको अवस्था हेर्दा टुप्पोमा पहेँलिएर गएको छ । सुन्तला फैलनुपर्नेमा नष्ट हुँदै गइरहेको छ’, भुवानी भन्नुहुन्छ, ‘पहिलाको हेरी अहिले धेरै नाजुक छ । पहिला चार ग्रेडका सुन्तला हुन्थे तर अहिले तीन ग्रेडमा झरेको छ । पहिलो ग्रेडमा ठूलो दाना हुन्थ्यो अहिले त्यो छैन । एक दशकअघि उक्त दाना होलसेलमै प्रतिकिलो एक सय ६० देखी ७० सम्म दाम पथ्र्यो ।’

कृषि विज्ञहरुले बारम्बार परीक्षण गरे पनि रोग पत्ता लगाउन नसकेको उहाँको भनाइ छ । धेरै निरीक्षण भए तापनि निराकण हुन नसक्दा नयाँ बोट लगाउनुपर्ने बाध्यता भएको छ । कृस्तीमा अहिले फलेका सुन्तला काठमाडौंको कालिमाटीमा पुग्ने गरेको छ । पोखरामा बिक्री कम हुँदै गएपछि काठमाडौंतर्फ धकेलिएको र अहिले पुरै बोट ठेक्कामा गइसकेको छ ।
उहाँका अनुसार अहिले स्वादमा समेत फरकपन देखिँदै गएको छ । सुन्तला बिक्रीका लागि पहिला बोकेरै बिरौटा, पृथ्वीचोकसम्म जानुपर्ने बाध्यता थियो तर अहिले सडक सञ्जाल जोडिएपछि दैलोमै सुन्तला लिन आए पनि उत्पादनमा कमी आउन थालेको छ । ‘पहिलो कुरा त बोकेर लग्नुपथ्र्यो, उत्पादन राम्रो थियो ।

अहिले यातायातको सुविधा छ तर उत्पादनमा ह्रास आइरहेको छ । शायद प्रदूषणले पनि होला समस्या आएको । अहिले राज्यले हामीलाई नयाँ जातका बिरुवा दिएको छ । प्रविधिको प्रयोग गर्न सिकाएको छ तर पनि सफल हुन सकिरहेको छैन’, उहाँले भन्नुभयो । फुस्रेखोलादेखि नै सुन्तला फल्ने गरे पनि अहिले मासिँदै बेसीबाट माथितर्फ लागेको र अबका तीन–चार वर्षमा झन् मासिने हो कि भन्ने चिन्ता देखिएको उहाँको भनाइ छ । आफ्नो बारीसहित गाउँका सुन्तला ठेक्कामा लिएका किसान नवराज सुवेदीले बुटो मर्दै जाँदा उत्पादनमा कमी आएको र उत्पादन भएकामा पनि साना दाना फल्ने गरेको बताउनुभयो । अहिले उनको दैनिक ११५ क्यारेट सुन्तला काठमाडौं जाने गरेको छ ।

उहाँ भन्नुहुन्छ, ‘पहिलाभन्दा अहिले कमी आएको छ । पहिला सुन्तला टिप्ने खेताला नै २०–२५ जना हुन्थे भने यसपटक १६ जना मात्रै राखेका छौं । २५ दिन भयो सुन्तला टिपेको, दैनिक ११५ क्यारेट सुन्तला पठाउने गरेका छौं ।’ उहाँका अनुसार एक क्यारेटमा २० किलो सुन्तला हुन्छ ।

अर्का किसान वसन्त सुवेदीको समेत समस्या उही छ । पोखरामा समेत व्यापार गर्दै आएका वसन्तको बारीमा एक सयवटा सुन्तलाका रुख छन् तर अहिले ४०–५० वटामा मात्रै सुन्तला राम्रोसँग फलेको छ । उहाँले वार्षिक साढे दुईदेखि तीन लाख रुपियाँसम्म आम्दानी गरेका छन् । ‘फलेको यहीँबाट ठेक्का दिने गरेका थियौं, अहिले बाटोको सहजता भएकाले आफैँले लगेर बेचिरहेको छु ।

अहिले त एक वर्ष कम फल्ने र एक वर्ष राम्रो फल्ने गरेको छ’, उहाँले भन्नुभयो, ‘धेरै बुटाहरु रोगका कारण मासिए । चिस्यान भएका ठाउँमा मात्रै बाँचेका छन् । केही बगानहरु मासिएका छन् ।’ त्यसबाहेक त्यहाँका किसानको मुख्य समस्या भनेको सिंचाइ हो । उहाँहरु कृषिका लागि सिंचाइको अभाव भएको सुनाउनुहुन्छ ।